सुदूरपश्चिमका सरकारी विद्यालयको पठनपाठन बन्द, शिक्षकहरु आन्दोलनका लागि काठमाडौँमा
2023/09/20, 5:34
 
ss

सुदूरपश्चिमका सबै सरकारी विद्यालयका शिक्षक काठमाडौं गएर शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेका छन्। सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका हुन्। संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने सहितका माग छन्।सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा यो आन्दोलन सुरु भएको हो। सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ।

उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर, शिक्षा विधेयक संशोधन गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।यस्तै सुदूरपश्चिमका सरकारी विद्यालयका शिक्षकहरु पनि काठमाडौं पुगेका छन्।

कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन्। माइतीघर–वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरू  विरोध प्रदर्शनमा उत्रिएका छन्। संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा सुदूरपश्चिमका शिक्षक पनि आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक–शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ पुगेका छन्। महासङ्घले देशभरका सबै सामुदायिक विद्यालयहरू बन्द गराएको छ। शिक्षकहरूको आन्दोलनको कारण सुदूरपश्चिमका सम्पूर्ण सामुदायिक विद्यालय बन्द हुने भएका छन्।

शिक्षक महासंघले असोज ३ गतेबाट अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेको छ। जसका कारण देशभर ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन्।आन्दोलनका लागि ७७ वटै जिल्लाबाट स्थायी, राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन्। विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ।