टिकटकविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा
2023/11/20, 1:35
 
tiktok

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छन् ।

यही मंसिर १ गते दर्ता भएका टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् । गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका थिए ।

छठको बिदाका कारण आजको पेसी तोकिएका १० रिट प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश चुडालको इजलासमा परे पनि इजलास बस्न नसकेपछि हेर्न नभ्याइने सूचीमा परेका हुन् । दशवटै रिट लगाउमा राखेर एउटै इजलासमा एकसाथ सुनुवाइको व्यवस्था गरिएको छ ।