बैतडी सदरमुकाममा खानेपानीको समस्या
2023/11/24, 5:23
 
ss

बैतडी जिल्ला सदरमुकाममा एक पटक पानी भर्न चार दिन कुर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । साना सहरी खानेपानीको पाइपमा चुना क्याल्सियम जमेर आपूर्ति नभएका कारण यस्तो समस्या आएको बताइएको छ । 

सदरमुकाममा विगत चार, पाँच दिनदेखि खानेपानी वितरण नियमित हुन सकेको छैन । आठ वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएका छन् । सो समस्यासँगै दशरथचन्द नगरपालिका–४, सदरमुकाममा खानेपानीको सङ्कट चुलिएको छ । यहाँ एक हजार ६० वटा धारा छन् । दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्छ । छ इन्च पाइपभित्र क्याल्सियम जम्दा पानी आपूर्तिमा समस्या भएको साना सहरी खानेपानीका प्राविधिक पदम ठगुन्नाले जानकारी दिए । 

सदरमुकाममा दैनिक पाँच लाख ५० हजार लिटर पानी आवश्यक पर्नेमा हाल तीन लाख लिटर आपूर्ति हुन थालेको छ । उपभोक्तालाई चार दिनमा एक छाक पानी दिने गरेको उनले बताए। चार दिनमा एक छाक पानी आउन थालेपछि सदुमकाम क्षेत्रमा डेरा गरी बस्ने विद्यार्थी र होटल सञ्चालकलाई समस्यामा परेको स्थानीय श्याम खत्रीले बताए । पानीका कारण होटल बन्द गर्नुपर्ने अवस्था आएको छ ।  सात किलोमिटर टाढा रहेको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट आपूर्ति हुने पानीको पाइप फेर्न सके मात्र दैनिक रूपमा पानी वितरण गर्न सकिने जनाइएको छ । ग्वाल्लेकको पानीमा क्याल्सियमको मात्रा बढी भएका कारण सात, आठ वर्षमै पाइपको व्यास घटेर चार इन्च बनेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख गोविन्द देवकोटाले बताए । 

उनले भने, “यस समस्याको समाधान पाइप फेर्नु एक मात्र विकल्प रहेको छ । साना सहरी खानेपानी योजनामा महँगो डिआई पाइप प्रयोग भएको छ । पाइप बलियो भए पनि पानीमा चुनाको मात्रा बढी हुँदा यस्तो अवस्था आएको छ । पाइप फेरेर मुहानमै चुना फिल्टर गर्ने मेसिन जडान गरेर पानी ल्याउन सके दीर्घकालीन रूपमा समस्या समाधान हुने अपेक्षा गरिएको छ । साना सहरी खानेपानीको पाइप फेर्न आठदेखि १० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

साना सहरी खानेपानी बन्द हुने अवस्था आएपछि तत्कालका लागि स्थानीय सुतिगाढ खोलाबाट पानी ल्याउन पहल भइरहेको उनले बताए । सङ्घीय सरकारको अनुदानमा बनेको साना सहरी खानेपानी योजनाको पाइप समयमै फेर्न नसके थप समस्या आउने उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द पाण्डेयले बताए ।  गोरखापत्रबाट