धनगढी-दिपायल द्रुतमार्गः कालोपत्र पूरा नहुँदै खाल्डाखुल्डी
2023/12/16, 11:58
 
ss

धनगढी–दिपायल द्रुतमार्ग अन्तर्गत धनगढी–स्याउले खण्डमा कालोपत्र गर्ने काममा लापरबाही भइरहेको पाइएको छ । कालोपत्र पूरा नहुँदै पहिलो कोट गरिएको खण्डको विभिन्न ठाउँमा खाल्डाखुल्डी परिसकेका छन् । तुलनात्मक रूपमा कमजोर गुणस्तरको प्रविधि मानिने डबल बिटुमिन सरफेस ट्रिटमेन्ट ९डीबीएसटी० प्रविधिबाट यो खण्ड कालोपत्र भइरहेको छ । यस प्रविधिको कालोपत्रको आयु बढीमा तीन–चार वर्ष हुने प्राविधिकहरू बताउँछन् । त्यही कारण पहिलो कोट गर्दागर्दै बेस भत्किन थालेको हो । पहिलो कोट गरिएको केही समयपछि दोस्रो कोट हुने निर्माण कम्पनीले जनाएको छ ।

फास्ट ट्र्याक धनगढीको हसनपुरदेखि सुरु हुन्छ । तराई क्षेत्रमा कालोपत्र भइरहेको हसनपुर–स्याउले खण्ड अत्तरियादेखि धनगढीसम्म हाल सञ्चालित ६ लेन सडकजत्तिकै चाप हुने वैकल्पिक मार्ग हो । ६ लेन खण्डजत्तिकै महत्त्वको उक्त सडक खण्डमा डीबीएसटी गुणस्तरको कालोपत्र नै गलत भएको प्राविधिकहरू बताउँछन् । नेपालमा सडक कालोपत्र गर्न अस्फाल्ट, प्रिमिक्स, डीबीएसटी र ओटासिल गरी चार वटा गुणस्तर प्रविधि चलनचल्तीमा छन् । अस्फाल्ट सबैभन्दा गुणस्तरीय मानिन्छ । तराईका सडकमा अस्फाल्ट र प्रिमिक्स प्रविधिको कालोपत्र गर्ने प्रचलन रहेको इन्जिनियरहरू बताउँछन् । ‘प्रायः गरी पहाडी क्षेत्रका सडकमा डीबीएसटी र ओटासिल प्रविधिले कालोपत्र गर्ने गरिन्छ,’ इन्जिनियर जंगबहादुर थापाले भने, ‘ओटासिल त अहिले लगभग हटिसक्यो ।’

धनगढी–स्याउले खण्डमा डीबीएसटी प्रविधिमा कालोपत्र किन गरियो भन्नेमा सम्बन्धित निकायका प्राविधिकहरू डीपीआर नै त्यही भएकाले बदल्न नमिलेको बताउँछन् । ‘डीबीएसटी प्रविधिको कालोपत्रेको लागत सस्तो हुन्छ,’ धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजनाका प्रमुख दिनेश खैरालाले भने, ‘खाल्डाखुल्डी परेपछि माथिबाट थप्दै जानुपर्ने हुन्छ ।’ तर स्थानीय भने आयोजना कार्यालयले गरिरहेको तर्क विकास निर्माणको गुणस्तरमा खेलाँची भएको दाबी गर्छन् ।

‘फास्ट ट्र्याकजस्तो महत्त्वपूर्ण सडक संरचनामा कमसल गुणस्तरको कालोपत्र योजना बनाउनु आफैंमा हचुवापन हो,’ धनगढीका नागरिक अगुवा धनपति ढुंगेलले भने, ‘निर्माण नहुँदै माथिबाट टालटुल गर्नुपर्ने गुणस्तरको कालोपत्रे गर्नु आफैंमा लापरबाही हो ।’ धनगढी–खुटिया १३।४ किलोमिटर खण्ड कालोपत्रका लागि आयोजना कार्यालयले ०७८ जेठ तेस्रो साता खड्का कृष्ण नारायणम् जेभीसँग १८ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्पन्न गर्नुपर्ने म्याद मंसिर २० मा गुज्रिसके पनि काम भने अधुरै छ ।

म्याद थपको प्रक्रियामा रहेको आयोजना कार्यालयले जनाएको छ । हाल धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजना कार्यालयले धनगढीदेखि उरैभन्ज्याङसम्मका लागि ६ वटा ठेक्का लगाएर काम भइरहेको जनाएको छ । धनगढीदेखि हाटखोलीसम्म २० किलोमिटर कालोपत्रका दुई वटा ठेक्का छन् । जसको म्याद यही मंसिर २० सकिएको भए पनि काम भने अधुरै छ । कान्तिपुरबाट