डोटीमा सेती ६ परियोजना जाने सडक निर्माणका लागि सम्झौता
2024/01/01, 5:49
 
dd

डोटी र अछामको संगममा पर्ने बोगटान फूडसिल गाउँपालिकाको मोरासैनमा प्रस्तावित ४५० मेगावाटको सेती नदी ६ परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने पहुँचमार्ग निर्माण गर्न सम्झौता भएको छ।

सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फूडसिल गाउँपालिका बिच आइतबार सडक निर्माणका लागि सम्झौता भएको हो। प्रदेश सरकारका भौत्तिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाको उपस्थितमा दुई सरकारबिच सहमती पत्रमा हस्ताक्षर भएको हो। पश्चिम सेती र सेती ६ परियोजनाको सम्भाव्य अध्यनका लागि भारतीय कम्पनी एनएचपीसीसंग लगानी बोर्डको सम्झौता छ।

सो कम्पनीले सेती ६ परियोजनाको अध्ययन क्षेत्रसम्म सडक मार्ग नभएकाले कठीनाइ भइरहेको गुनासो लगानी बोर्डसँग गरेपछि सो क्षेत्रमा जाने खत्याडी–मोरासैन सडक निर्माणका लागि प्रदेश र स्थानीय सरकारबीच सम्झौता भएको भौत्तिक पूर्वाधारमन्त्री  देउवाले बताए।

सम्झौता पत्रमा सो सडकका लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले व्यहोर्ने उल्लेख छ भने स्थानीय स्तरमा आवश्यक समस्या समाधानको जिम्मेवारी पालिकाले व्यहोर्ने छ। गाउँपालिका अध्यक्ष कमलसिंह गडसिलाले सो सडकको डिपीआर पालिकाले तयार गरिसकेको बताए। उनले चालु आर्थिक वर्षभित्रै वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरिसक्ने दाबी समेत गरे। सडकको लम्बाई १५ किलोमिटर रहेको छ।