माघी तयारीमा थारू समुदाय
2024/01/09, 10:52
 
aa

कैलाली र कञ्चनपुरका थारू समुदायको पर्व माघ माघी पर्वको तयारीमा जुटेका छन् । माघी पर्वलाई धुमधामसँग मनाउन हप्ता दिन अघिबाट तयारीमा जुटेका हुन् । थारू बस्तीमा माघका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, कुटानीपिसानी, सुँगुरको मासुका लागि अन्तिम नामावली तयार पार्नेलगायतका कार्य भइरहेको छ । 

माघ पर्व यो समुदायको नयाँ वर्ष र नयाँ आर्थिक आयआर्जनको तिथि पनि हो । पुस २९ देखि माघ २ सम्म उल्लासका साथ नाचगान गर्दै पश्चिम कैलालीदेखि पूर्वजिल्लासम्मका थारूले यो पर्वलाई धुमधामसँग मनाउने गरेका छन् । माघ १ बाट थारू संवत् सुरु हुन्छ । माघ आउन एक हप्ता मात्रै बाँकी रहेकाले माघी पर्वको तयारीमा जुटेको कैलारी गाउँपालिका–७, रामपुरका रामलाल चौधरीले बताए। थारू समुदायका व्यक्तिले माघ पर्वमा सालको पातको दुनाटपरीमा ढिक्री, सुँगुरको मासुलगायत परिकार खाने र घरमा आएका पाहुनालाई त्यसैमा खानाका परिकार दिने चलन रहेको छ । 

पर्वमा आगो ताप्न र मिठा परिकार पकाउनका लागि सबै थारू गाउँवासीले जङ्गलबाट दाउरा सङ्कलन गरेर ल्याउने चलन छ । माघका लागि दुई बयलगाडा दाउरा ल्याएको कैलारी गाउँपालिका–७ कै स्थानीय खेमराज चौधरीले बताए । माघ १ गते बिहानै स्नान गरेर मान्यजनबाट आशीर्वाद लिने र साथीभाइबिच शुभकामना आदानप्रदान गर्दै रमाउने चलन छ ।

माघ २ गते पर्वको अन्तिम दिन खोज्नीबोज्नी गरेर गएको एक वर्षमा भएका कामकारबाहीको समीक्षा गरी अगाडिका वर्षका लागि योजना बनाउने, गाउँ चलाउन नयाँ नेतृत्व चयन गर्नेलगायतको कार्य हुने गर्दछ । माघ पर्व सकिएसँगै थारू समुदायमा विवाह गर्ने र नयाँ घर बनाउने तथा आर्थिक आयआर्जनका लागि नयाँ व्यवसाय सुरु गर्नेलगायत काम गर्ने चलन रहेको छ । माघीमा देश विदेशमा रहेकाहरू पनि आफ्नो थातथलोतर्फ फर्कन थालेका छन् ।