हराउँदै परम्परागत डोली
2024/01/30, 3:36
 
ss

विवाहमा प्रयोग हुँदै आएको डोली ९म्याना० लोप हुँदै गएको छ । छदेखि सात फिट लामो र गोलो कुर्सी आकारको डोलीमा रातो कपडाले छोपेर त्यसभित्र बेहुलीलाई राख्ने गरिन्छ । गाउँघरमा सडक यातायातको पहुँचसँगै सवारीसाधनको प्रयोग बढेपछि भने परम्परागत डोली हराउन थालेको हो । बाजुराका अधिकांश गाउँबस्तीमा विवाहमा दुलही बोक्ने डोली प्रयोग हुँदैन । 

डोली बिस्तारै लोप हुँदै गएको खप्तड छेडेदह गाउँपालिका–२ का स्थानीय भरुनी नेपालीले बताए। ‘पहिला गाउँमा कसैको विवाह भएमा डोली कसको घरमा छ भनेर खोजी हुन्थ्यो,’ उनले भने, ‘अहिले गाडी कसको छ भन्ने गरेका छन् ।’  डोलीको खोजभन्दा पहिला गाडीको खोज हुन थालेपछि डोला बिस्तारै लोप हुँदै गएको हो । उतिबेला हरेक गाउँमा कम्तीमा एउटा डोली हुने गरेको सम्झना उनले गरे । ‘त्यतिबेला गाउँमा सडक थिएन, डोली अनिवार्य थियो,’ उनले भने, ‘उतिबेला म पनि डोली चढेर आएकी थिएँ, अहिले छोराको विवाहमा  बुहारी ल्याउन डोली होइन, गाडी भाडामा लिनु पर्यो ।’

विसं २०६५ भन्दा पहिला बाजुराका अधिकांश गाउँबस्तीमा विवाह हुँदा बरको काठबाट बनेको डोला, म्याना र घोडा प्रयोग हुन्थ्यो । २०७५ सालपछि गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै विवाहमा प्रयोग हुने डोला र घोडा चढ्ने चलन बिस्तारै हट्दै गएको हो । हिमाली जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमूल बडीमालिका, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा छन् ।

परम्पराको हिसाबले विवाहमा डोली नै राम्रो हुने गरे पनि अहिले डोलीको सट्टा गाडी नै सहज हुने गरेको स्थानीयवासी बताउँछन् । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले डोली बोक्ने मान्छे पनि पाइँदैन । त्यसैले पनि डोली संस्कृति हराउँदै गएको बुढीगङ्गा नगरपालिका–९, त्रिपुरासुन्दरी प्राविका शिक्षक नैनबहादुर थापा बताउँछन् ।