दार्चुला सदरमुकाम खलंगादेखि तीन घण्टाको पैदल दूरीमा पर्छ, दार्चुलाको महाकाली नगरपालिका–२ को काँटे झुस्कु गाउँ । रुस–युक्रेन युद्धका कारण यो सिंगो गाउँ बैचनीमा परेको महिनौं भइसक्यो ।
गाउँका डोबाल खलकका ६ दाजुभाइ संगठित मानव तस्करको प्रलोभनमा परेर रुसी सेनामा भर्ती भएका थिए । तीमध्ये १ जना महेन्द्रसिंह डोबाल युद्धमा घाइते भई बल्लतल्ल नेपाल फर्किए पनि अन्य ५ को अवस्थाले परिवारलाई हरदिन सताइरहेको छ । एक वर्षअघि नविन्द्रसिंह डोबाल दाजुभाइसँगै वैदेशिक रोजगारीमा जान भनेर काठमाडौं आएका थिए ।
राम्रो काममा पठाइदिने आश्वासन पाएपछि उनीहरूले प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले नगद बुझाए । तर, दलाल पैसा लिएर फरार भएपछि उनीहरू समस्यामा परे । गाउँबाट ऋण काढेर बुझाएको पैसा लिएर दलाल भागेपछि पश्चिमी सीमान्त जिल्ला दार्चुलाबाट विदेश जान काठमाडौंमा पर्खिरहेका उनीहरूलाई सकस भयो । यही समस्यामा फसिरहेका बेला उनीहरूले सुने– युक्रेनसँग लड्न रुसी सेनामा भर्ना खुलेको र भर्ती हुन सके राम्रो कमाइ हुने कुरा । अनि बनाए, उतै जाने योजना ।
यसरी एकै खलकका २२ वर्षीय राजेन्द्रसिंह डोबाल, दीपकसिंह डोबाल, विशालसिंह डोबाल, ललितसिंह डोबाल, महेन्द्रसिंह डोबाल र २३ वर्षीय नविन्द्रसिंह डोबाल ६ महिनाअघि दलाललाई जनही १२ लाख रुपैयाँ बुझाएर रुसी सेनामा भर्ना हुन पुगेका थिए । यतिबेला महेन्द्रसिंह घाइते भएर जसोतसो स्वदेश फर्के पनि राजेन्द्रसिंह र ललितसिंह भने सम्पर्कमै छैनन् । दीपक, विशाल र नविन्द्र बेलाबखत परिवारको सम्पर्कमा आउँछन् अनि हप्तौं हराउँछन् । परिवारका सदस्यहरूका अनुसार राजेन्द्रसिंह र ललितसिंहको अवस्थाबारे अत्तोपत्तो नभएको कैयन् साता बितिसक्यो ।
नविन्द्रसिंहकी दिदी तुलसी कुँवरका अनुसार एकै परिवारका ६ जना विदेश जाने चक्करमा दलालबाट फसेका थिए । विदेश पठाइदिने भन्दै एक जनाबाट ५ लाख रुपैयाँका दरले पैसा उठाएर दलाल फरार भएपछि उनीहरू समस्यामा परेका थिए । ब्याजमा निकालेको ऋण तिर्न नसक्ने अवस्थामा भौतारिरहेका बेला उनीहरू काठमाडौंमै भेटिएका अर्का दलाललाई १२ लाख रुपैयाँका दरले बुझाएर रुस उडेको उनले बताइन् । ‘एकै परिवारका दाइभाइ, अंकल युद्ध लड्न जाँदा अहिले गाउँ नै आत्तिएको छ । उहाँहरूभन्दा अगाडि गएका भिनाजु कुन्दनसिंह नगालको ३ महिनाअगाडि रुस र युक्रेनको युद्धमा मृत्यु भयो । हामी त्यसपछि झन् आत्तिएका छौं,’ उनले भनिन्, ‘एकातिर ब्याज तिर्नसमेत नसकेर साहुको तनाव, अर्कोतिर आशा भरोसा बोकेर गएका घरका सबै खम्बा अर्काको ठाउँमा छन् । कुन बेला के हुन्छ भन्ने तनावले रातदिन सताएको छ ।’
तुलसीले हतियार र युद्ध लड्नेबारे कुनै अनुभव नभएकालाई दलालले पैसा धेरै कमाउन सकिन्छ भनेर ललाइफकाइ पठाएको बताइन् । उनका अनुसार युद्धमा घाइते भएका महेन्द्रसिंहलाई उता पठाउने दलालले नै घर फर्काइदिएको हो ।रुसमा पुगेपछि उनीहरू एक महिनासम्म युद्ध लड्ने र हतियार चलाउने तालिम गरेर युद्धभूमिमा पुगेका थिए । ‘त्यहाँको अवस्था थाहा पाइसकेपछि गत माघमा परिवारका तर्फबाट हामीले सरकारका विभिन्न निकायमा निवेदन दियौं । अहिलेसम्म धाइरहेकै छौं । तर, उनीहरूलाई नेपाल फर्काउनका लागि, सम्पर्क विहीनहरूको अवस्था पत्ता लगाउनका लागि कसैले चासो दिँदैनन्,’ उनले भनिन् ।
डोबाल खलकका परिवारजनकै जस्तो छटपटी र अत्यास सुदूरपश्चिम प्रदेशका कैयन् परिवारमा छ । अछाम साँफेबगर नगरपालिका–६ भाग्यश्वरका रावल परिवारमा पनि यस्तै छटपटी र अत्यास छ । १७ वर्ष नेपाली सेनामा जागिर गरेका ४९ वर्षीय विक्रम रावल तीन वर्षयता दुबईको एक सेक्युरिटी कम्पनीमा काम गरिरहेका थिए । दुबईको कमाइले घरपरिवार चलाउने खर्च धानिरहेका बेला उनले साथीभाइबाट रुसी सेनामा भर्ती हुन सके मनग्गे कमाउने सुने । यही प्रलोभनमा परेर गत असोज २८ मा उनी साथीहरूसँग सरसापट गरेर दुबईबाटै ५ लाख खर्च गरेर रुस पुगे । अनि बल्ल श्रीमती र परिवारका सदस्यलाई थाहा दिएका थिए, रुसी सेनामा भर्ती भएको कुरा ।
दुबईमा काम गर्न गएका श्रीमान् रुस पुगेको थाहा पाएपछि श्रीमती लता बोगटी अचम्ममा परिन् । सुरुमा होइन होला भन्ने सोचेकी लताले जब श्रीमान्ले रुस पुगेको प्रमाण स्वरूप तस्बिरहरू पठाउन थाले, त्यसपछि मात्रै विश्वास गरिन् । ‘मलाई नभनेरै उहाँ रुस पुग्नुभयो । साथीहरूको लहैलहैमा लागेर नै जानुभएको हो । रुस पुगेपछि मात्रै ५ लाख खर्च गरेर आएँ भन्नुभएको थियो,’ उनले भनिन्, ‘दुबईमा पनि राम्रो कमाइ थिएन । ऋण पनि धेरै छ । युद्धमा जाँदा राम्रो कमाइ हुन्छ भन्ने प्रलोभनमा परेर उहाँ रुस पुग्नुभयो । अहिले त ज्यान नै खतरामा छ ।’
लताका अनुसार रुस पुगेलगत्तै श्रीमान् सेनामा भर्ती भएर लडाइँमा खटिसक्नुभएको थियो । हिजोआज विक्रम एकाध साताको अन्तरमा मात्रै सम्पर्कमा आउने गरेको उनले बताइन् । ‘साता, दुई सातामा बल्लतल्ल सम्पर्कमा आउनुहुन्छ । अहिले त एक हप्ता भयो, कहाँ, कुन अवस्था हुनुहुन्छ भन्ने कुनै जानकारी छैन,’ उनले भनिन्, ‘१२ वर्षको छोराले बाबा खोज्छ । म त हरेक पल मरेर बाँचिरहेकी छु । कुन बेला के खबर सुनिन्छ भनेर सोच्दासोच्दै, रुँदारुँदै समय बित्ने गरेको छ ।’
कञ्चनपुरको बेलौरी नगरपालिका–३ को गिरी परिवारको हालत पनि उस्तै छ । यहाँका ३० वर्षीय भेषराज गिरी ९ महिनाअगाडि दुबईबाट रुस पुगेका थिए । सशस्त्र प्रहरीमा ७ वर्ष, दुबई पुलिसमा ४ वर्षसम्म जागिर खाएका भेषराज साढे ४ लाख खर्च गरेर रुस पुगेर सेनामा भर्ती भएका थिए । परिवारसँग नियमित सम्पर्कमा रहे पनि हरेक दिन रुसबाट आउने दुःखद् खबरहरूले परिवारको मन आत्तिरहन्छ । भेषराजकी श्रीमती सपनानाथले श्रीमान् एक वर्षको सम्झौता गरेर जानुभएको र अब तीन महिनापछि सम्झौता सकिने बताइन् । भनिन्, ‘सम्झौता सकिएपछि आउन पाउनुहुन्छ कि भन्ने आसमा बसेका छौं । युद्धग्रस्त देशमा गएदेखि परिवारमा तनावैतनाव छ ।’
रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न गएकामध्ये ३२ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।मृतक र घाइते भई फर्केकाहरूको कुरा पत्याउने हो भने त्यहाँ सयौंको संख्यामा नेपालीहरूको हताहती भएको हुन सक्ने देखिन्छ । परराष्ट्र मन्त्रालयले अघिल्लो महिनासम्म १७ र हालै थप १५ जना नेपालीको मृत्युको पुष्टि गरेको छ । रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्रले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्दैन । रुसी सेनामा भर्ना भएकामध्ये कम्तीमा ९६ नेपाली परिवारको सम्पर्कमा छैनन् ।रुसी सेनामा भर्ती भएकाहरूका झन्डै साढे चार सय हाराहारी परिवारले खोजीका लागि भन्दै कन्सुलर विभागमा निवेदन दिइसकेका छन् । रुसी सेनामा रहेका नेपालीका अनुसार कम्तीमा ७ सय नेपालीलाई रुस–युक्रेन बोर्डरमा खटाइएको छ। साभार कान्तीपुरबाट