सुदूरपश्चिमको समग्र तापक्रम तापक्रम बढ्यो
2024/04/23, 2:09
 
ss

सुदूरपश्चिमको समग्र तापक्रम बढेको छ।  सबैभन्दा बढी कैलाली र कञ्चनपुरको तापक्रम बढेको हो। तराइका जिल्लामा पछिल्लो एक सातायता तातो हावा चल्न थालेको छ। वर्षा नहुँदा र वनजंगलमा डढेलो बढेसँगै तातो हावा चल्न थालेको हो। आइतबार धनगढीमा अधिकतम ३८ दशमलव ५ डिग्री सेल्सियस मापन भयो भने शनिबार ४१ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

तराइमा केही दिनदेखि तापक्रम बढेको हो। आइतबार केही घटे पनि सोमबारबाट फेरि बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए। मौसम विभागले तराइमा तातो हावाको लहर चल्न थालेको घोषणा गरेको छ। सामान्यतया लगातार तीन दिनभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा ‘लु’ चल्न सुरु हुने मौसमविद् झाले बताए।

कुन क्षेत्रमा कति डिग्री तापक्रम पुग्दा ‘लु’ चलेको मानिने भनेर छुट्टै मापदण्ड तय भएको छ। विभागले बनाएको मापदण्ड हेर्दा तराइमा हल्का र मध्यमस्तरको तातो हावाको बहाव देखिएको छ। धनगढीमा तापक्रम बढ्दै गएको छ। गत वर्ष वैशाख पहिलो सातादेखि असार दोस्रो सातासम्म तीनपटक लु चलेको थियो। जसकारण तराइका कयौँ विद्यालय बन्द गरिएका थिए।

वैशाख–जेठमा धनगढीमा तापक्रम ४० देखि ४४ डिग्री सेल्सियस पुग्ने गरेको छ। धनगढीमा दिउँसो चर्को गर्मी हुन थालेको छ। आइतबार मात्र दिपायलमा अधिकतम तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। मौसम पूर्वानुमान महाशाखाले हिजो ९सोमबार० बुलेटिन जारी गर्दै सुदूरपश्चिम प्रदेशको तराइका भू–भागको थोरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख गरेको छ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ। तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र तथा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटक–पटक० पानी तथा झोल पदार्थ जुस, सर्वत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह लिने गर्नुपर्छ।