बुवा चन्द्रबहादुर चौधरीले एकरदुई गह्रामा धानसँगै माछापालन सुरु गरेका थिए । डेढ दशकअघिको कुरा हो, किसानलाई माछापालनमा आकर्षित गर्न सरकारले भर्खर योजना ल्याएको थियो । बेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरी भारतको देहरादुनबाट व्यवस्थापनमा स्नातकोत्तर सकेर गैरसरकारी संस्थाको जागिरसँगै महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा अध्यापन गरिरहेका थिए । बुवाले गरेको माछापालनमा हरिरामको खासै रुचि थिएन । धानखेतबाट सुरु भएको माछापालनलाई बढाउँदै गएपछि आम्दानी पनि बढ्न थाल्यो । तीन बिघा जमिनमा धान र गहुँ खेती विस्थापित गरेर माछापालन गर्न थालिएको थियो । बुवाले धानखेतबाट सुरु गरेको माछापालन व्यवसाय अहिले चौधरीका लागि आम्दानीको गतिलो स्रोत मात्रै बनेको छैन, उनको परिचयसमेत बनेको छ ।
२०७२ मा बुवाको मृत्युपछि माछापालन व्यवसायलाई उनले सम्हाले । अहिले उनले वर्षमा करोड बढीको कारोबार गरिरहेका छन् । उनले १० बिघा जमिनमा २२ पोखरी बनाएर माछापालन गरिरहेका छन् । वर्षमा ८ सय क्विन्टल हाराहारी माछा उत्पादन गरिरहेका छन् । ‘लगानी पनि धेरै छ, आम्दानी पनि राम्रै हुन्छ,’ चौधरीले भने, ‘भुरादेखि दानासम्म निकै महँगो र सहजै पाउन नसकिने भएकाले उत्पादन लागत निकै बढी छ ।’ अहिले उनले पंगास, कमन कार्पलगायतका माछापालन गरिरहेका छन् ।
चौधरीले माछापालनबाट वर्षमा ३० लाख बढी आम्दानी गर्छन् । उनले उत्पादन गरेको माछा स्थानीय बजारमै खपत हुन्छ । व्यापारीहरू घरबाटै लगेर बजारमा बिक्री गर्ने गर्छन् । उनले बाह्रै महिना उत्पादन हुने गरी माछापालन गरिरहेका छन् । ‘धान, गहुँभन्दा यसमा बढी आम्दानी छ, जोखिम पनि त्यत्तिकै छ,’ चौधरीले भने, ‘यस वर्ष वर्षाले धेरैको पोखरी फुटेर माछा नै बगायो, लाखौंको नोक्सान भयो ।’ उनका अनुसार उत्पादन गरेपछि पनि भारतीय माछाका कारण यहाँको उत्पादनले मूल्य नपाउने समस्या रहेको उनले बताए । भारतीय माछाको तुलनामा यहाँको उत्पादन मूल्य बढी हुने भएकाले प्रतिस्पर्धा गर्न नसकिने उनले बताए । अहिले पनि बजारमा अवैध रूपमा भारतीय माछा भित्रिने गरेको उनको गुनासो छ ।
चौधरीले माछापालनबाटै छोरी भूमिकालाई एमबीबीएस पढाइरहेका छन् । भूमिका नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तीन वर्षदेखि एमबीबीएस अध्ययनरत छिन् । उनका भाइ मनीष पनि एआई विषयमा काठमाडौंमा अध्ययनरत छन् । ‘माछाको भुरा र चारा सहजै र सुलभ मूल्यमा पाउने व्यवस्था भएमा कृषकहरू अझै आकर्षित हुन सक्छन्,’ चौधरीले भने, ‘तर अहिले माछापालनमा पाइने अनुदान पनि काम गर्ने भन्दा नगर्ने किसानले पाउँछन्, यसलाई पनि सुधार गर्नु आवश्यक छ ।’
उनले विगतको तुलनामा केही सुधार भए पनि अझै धेरै समस्या रहेको बताए । भारतबाट आयात हुने माछामा क्वारेन्टाइनदेखि भन्सार प्रक्रिया सबै पूरा गर्ने विषयमा पनि कडाइ गरिनुपर्ने चौधरी बताउँछन् । दुई साताअघि कैलाली र कञ्चनपुरका माछा व्यवसायीहरूले गड्डाचौकी भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालयमा आवश्यक प्रक्रिया कडाइका लागि पालना गरिदिन आग्रह गरेका थिए । उनीहरूले भारतबाट आउने माछाका कारण स्थानीय उत्पादनले बजार नपाएको गुनासो गरेका छन् ।कान्तिपुरबाट