नेपाल आयाल निगमले धनगढीस्थित डिपो सार्ने योजना अघि बढाएको छ। निगमले कञ्चनपुरको पुनर्वास नगरपालिकामा डिपो सार्न प्रक्रिया अघि बढाएको हो।
उक्त नगरपालिकामा राष्ट्रिय आवास कम्पनीको जग्गा छ। सोही जग्गामा निगमले डिपो सार्न खोजेको छ। निगमलाई डिपो बनाउन जग्गा दिनका लागि आवास कम्पनी सहमत छ। तर नगरपालिकाले भने हालसम्म लिखित स्वीकृति दिएको छैन। नगरपालिकालाई अनुमति दिलाउनका लागि निगमले जोड गरिरहेको छ।
नगरपालिका प्रमुखले मौखिक रूपमा भने जग्गा खरिदका लागि अनुमति दिने बताएको निगमका उपनिर्देशक तथा धनगढी डिपो सार्ने परियोजनाका संयोजक ई प्रदिप यादवले जानकारी दिए। त्यो बाहेक हाम्रो लागि डिपो सार्न राम्रो जग्गा नै छैन। मैले प्रमुख ज्यूलाई नगरपालिकामै भेटेर हाम्रो समस्या बताएको छु, उनले भने,अनुमति दिन्छु भन्नु भएको छ। हामी आशावादी छौं। सो नगरपालिकामा डिपो बनाउँदा त्यहाँका स्थानीयलाई कुनै समस्या नपर्ने उनको भनाइ छ।
गत कात्तिक अन्तिम साता यादव जग्गा प्राप्तिका लागि पुनर्वास नगरपालिका, कञ्चनपुर गएका थिए। सो क्रममा आफूले नगरपालिकाका संघीय सांसद, प्रदेश सांसद, मेयर, उपमेयर तथा वडाध्यक्षहरूलाई भेटेर छलफल गरेको उनले जानकारी दिए। ुउहाँहरू सबै सकारात्मक हुनुहुन्छ। अब हामी केही दिनमै गएर सार्वजनिक सुनुवाई गर्छौं, उनले भने, त्यहाँका स्थानीयलाई डिपो किन सार्न लागेको, यहाँ डिपो सार्दा केही समस्या पर्दैन भनेर बुझाउनु छ।
पेट्रोलियम पदार्थ संवेदनशील भएकाले जग्गा प्राप्तिमा समस्या आउनु स्वाभाविक रहेको उनी बताउँछन्। भन्छन्, अन्य कुनै परियोजना सञ्चालन हुने भए सजिलै जग्गा पाइन्थ्यो। पेट्रोलियम सम्बन्धी परियोजनाका लागि जग्गा पाउन हामीले मेहनत गर्नुपर्छ। उक्त जग्गा प्राप्त हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ। निगमले कम्पनीको पुनर्वास नगरपालिका वडा २, ३ र ५ मा रहेको २२ बिगाहा जमिन खरिद गर्न लागेको हो।
धनगढीमै थप पाँच बिगाहा जमिन हुने थियो भने अन्यत्र डिपो सार्न नपर्ने उनी बताउँछन्। डिपो थोरै जग्गामा बनेको छ,ु उनले भने, ुहामीलाई अन्य संरचना थप गर्न कठिनाइ परेको छ। धनगढी डिपो ४० वर्षभन्दा बढी पुरानो हो। डिपो स्थापना हुँदा त्यहाँ वरपर घना जंगल थियो। विस्तारै मानिसको जनसंख्या बढ्दै जाँदा जंगलको बीचमा रहेको डिपो बस्तीको बीचमा हुन पुग्यो।
सहरीकरण हुँदै जाँदा आवाससँगै स्वास्थ्य संस्था, शिक्षण संस्था तथा व्यापारिक कम्प्लेक्सका भवन पनि ठडिएका छन्। सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने योजना बनाएको छ। भण्डारण क्षमता विस्तार गर्न डिपोमा ठाउँ छैन। ठाउँ नहुँदा भण्डारण क्षमता वृद्धि गर्न सकिएको छैन, ट्यांकरमा लोडअनलोड गर्ने ठाउँ पनि बढाउन सकिएको छैन,उनले भने, दैनिक काम गर्नै गाह्रो भइरहेको छ।
निगमको धनगढीस्थित डिपो कुल एक बिगाहा आठ कठ्ठामा फैलिएको छ। उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुइटा भर्टिकल र ७० किलोलिटरको भूमिगत ट्यांकी छ। त्यस्तै, पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एउटा भर्टिकल र ७० किलोलिटरको एउटा भूमिगत ट्यांकी छ।
उक्त मौज्दातबाट सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्रै माग धान्छ। धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाउँदै आएको छ।
यहाँबाट अहिले दैनिक एक सय किलोलिटर पेट्रोल, तीन सय किलो लिटर डिजेल तथा न्यून मात्रामा मट्टितेल बिक्री खपत हुने गरेको छ। भारतको बन्थरास्थित इण्डियन आयल कर्पोरेसन ९आइओसी० को डिपोबाट कैलालीको गौरीफन्टा नाका हुँदै धनगढी डिपोमा पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ।