दुर्गेशलाई आस्थाको व्यंग्य : के दर्शकलाई यस्तै चटक मन पर्छ ?
2020/07/26, 3:39
 
asth rawat

गायक दुर्गेश थापा एक अन्तर्वार्ताको कारण ट्रोल बनेका छन् । प्राइम टिभीमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा थापाले सूर–ताल बिगारेरै गाएका गीत सुनेपछि सामाजिक सञ्जालमा धेरैले उनको खिल्ली उडाए । यतिसम्म कि, थापाले नारायण गोपालको गीत भनेर भक्तराजको गीत बिगारेरै गाइदिएका थिए । त्यस्तै रामकृष्ण ढकालको गीतलाई यम बरालको भनिदिए ।

गीतसंगीत बुझ्ने थुप्रै दर्शकले समग्रमा उनको अन्तर्वार्तामाथि नै व्यंग्य गर्दै सामाजिक सञ्जालमा ट्रोल बनाइदिएका छन् । यस्तैमा गायिका आस्था राउतले दुर्गेशलाई लक्षित गर्दै कडा व्यंग्य गरेकी छन् । उनले पछिल्लो समय रहरै रहरमा गायक बन्नेहरुबाट दुखी बनेको संकेत गरिन् ।

राउतले लेखेकी छन्, ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ, न ताल आउँछ, अटो–ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ? युट्यूबबाट डलर त आउला, तर सांगीतिक ज्ञान कहाँबाट छाउला !! हेर्दैछु, नेपाली गीत संगीत कहाँ जाँदैछ, के दर्शकलाई यस्तै चटक नै मन पर्दैछ ? हैट, अब के चाहिँ गर्नु ! के बोल्नु कि नबोल्नु ?’

आस्थाले दुर्गेशको उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । आस्था नेपाली आधुनिक गायनमा अब्बल र लोकप्रिय गायिका मानिन्छिन् । आस्थाको स्टाटस आएसँगै उनको तर्कमा धेरैले सहमति जनाउँदै दुर्गेशको हर्कत्को आलोचना गर्न थालेका छन् । दुर्गेश गत वर्षको तीजमा ‘बीच्च बीच्चमा...’ गाएपछि चर्चामा आएका थिए ।