सम्पादकीयः पूर्व पश्चिम राजमार्ग मृत्युमार्ग नबनोस्
2020/08/14, 7:29
 
sadak

पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको चिसापानीदेखि अत्तरिया सडक खण्ड जिर्ण बनेको छ । राजमार्ग अन्तरगत कैलाली खण्ड मर्मतको काम झण्डै पाँच महिनादेखि ठप्प हुँदा सडक जिर्ण बन्दै गएको छ । सडक खण्डको ८० किलोमिटर क्षेत्रमा मिटर मिटरको दुरीमा सयौं ठाउँमा खाल्डा परेका छन् । 
पूर्वपश्चिम राजमार्ग जीर्ण बन्दै गएपछि कैलालीमा सडक दुर्घटना समेत बढेका छन् । अर्थात सवारी साधनहरुको दैनिक चापले दुर्घटना वढ्दा कयौं मानिसहरुले अकालमै ज्यान गुमाउनु पर्छ । राजमार्ग मृत्यु मार्गको रुपमा परिणत हुदैं जानु चिन्ताको विषयमा यस विषयमा सरोकारवाला निकायहरुको ध्यान जान जरुरी भईसकेको छ ।

हवाई मार्ग बन्द भएपछि प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेशका सासंदहरु र स्थानीय सरकारका प्रमुख उप प्रमुखहरुको ओहोर दोहोर गर्ने राजमार्गमा नै उनीहरुले पनि गाडीहरुमा घच्याङ घच्याङ हुँदा दुःख सामना गरिरहेका छन् । आम नागरिकहरुलाई कति सास्ती भएको होला सहजै अनुमान गर्न सकिन्छ । प्रदेश सरकार र स्थानीय सरकारको अर्बौ बजेट फसुल खर्च भईरहँदा लाखौं र करौडौं रुपैयाँ खर्च गरेमा चिल्लो बनाउन सकिने राजमार्ग सामान्य मर्मत सम्भारमा ध्यान नदिदँदा प्रदेशवासीहरुको काल बनिरहेको छ । त्यसैले अव यसतर्फ सोच्न ढिलो गर्नु हुदैंन । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार गत चैत्र महिनादेखि हालसम्म जिल्लामा सडक दुर्घटनाका कारण २२ जनाले ज्यान गुमाएका छन् । कैलालीमा सडक दुर्घटनामा परी गत वर्षको असारदेखि फागुनसम्म ६९ जनाले ज्यान गुमाएका थिए भने लकडाउनकै अवधिमा थप २२ जनाले ज्यान गुमाए । जिल्लामा हुने दुर्घटना मध्ये झण्डै ७० प्रतिशत दुर्घटना पूर्व पश्चिम राजमार्गमा भएको तथ्यांक छ । यसले पनि राजमार्ग मृत्यु मार्ग बनिरहेको पुष्टि हुन्छ । सडक दुर्घटनाको मुख्य कारणको रुपमा सडक खण्ड जिर्ण बन्नु नै रहेको तथ्यांकले देखाईसकेको छ । लकडाउन, मजदुरको अचनव लगायतका कारण मर्मतको काम पाएका निर्माण व्यवसायीहरुले वहाना देखाईरहेका छन् । तर जिल्लामा अन्य विकास निर्माणका कामहरु रोकिएका छैनन् । न ती कामलाई लकडाउन लागेको छ न त मजदुर नै अभाव छ । त्यसको ज्वलन्त उदाहरणको रुपमा तिव्र गतिमा भईरहेको छ लेन सडक खण्डको कालोपत्रेको कामलाई लिन सकिन्छ । निर्माण व्यवसायीले मर्मतको काममा वहानाबाजी गर्न मिल्दैन । कामको जिम्मा लिएपछि त्यो काम समयमै गर्नु पनि उसको जिम्मेवारी हो । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि नियमित सडक मर्मत गर्न कालिका जोशी जेभीलाई ठेक्का दिएको छ । तर गत चैतको पहिलो साता केही स्थानमा मर्मतको काम भएपनि त्यसपछि राजमार्ग मर्मतको काम पुनः सुरु भएको छैन् । नियमित रुपमा सडक मर्मत गर्नका लागि १५ करोड ९० लाख बढीमा ठेक्का सम्झौता गरिएको छ । निर्माण कम्पनीले तीन वर्षसम्म सडकमा परेका खाल्डाखुल्डी मर्मत गर्ने लगायतका काम गर्नु पर्ने भएपनि नियमित रुपमा मर्मतको काम हुन नसक्नु निर्माण व्यवसायीको मात्रै होईन सडक डिभिजन कार्यालयको पनि लापरवाही हो ।

मर्मतको काम नगर्नेलाई कारवाही गर्ने अधिकार सडक डिभिजनलाई छ । तर किन कारवाही हुदैन ? किन काम हुदैन ? आम सुदुरपश्चिमवासीहरुले आशंका गर्ने कि नगर्ने ? त्यसैले सडक मर्मत सम्भार गरी सवारी दुर्घटनामा न्युनीकरणमा ध्यान दिन आवश्यक छ । यसले सडककै कारण हुने दुर्घटनामा परी ज्यान गुमाउने अवस्थाको अन्त्य हुनेछ ।