तिमिलाई फुर्सद कहाँ छ र !
2020/09/25, 9:26
 
kabita

वर्षातको दिन

तुना वाला चप्पल,

ट्विक ट्विक आवज गर्दै

हिलोका छिटा टाउकोसम्म पुग्ने गरि

एउटै छाता मुनि,

तिम्रो हात समाई, हिड्न मन छ ।

निथ्रुक्कै भिज्ने गरि, डुल्न मन छ।

तिम्रो साथमा...

आफैले आफैलाई, भुल्न मन छ।

तर, तिमिलाई फुर्सद कहाँ छ र !

घुम्दा घुम्दै

निथ्रुक्क भिजेका हामी।

कीट कीट दारा किट्दै

बच्चाबच्ची जस्तै

अस्पस्ट हाम्रो वार्तालाप,

न तिमी बुझ्छेउ, न म बुझ्छु।

तर पनि तिमीसंगै बसेर...

यो जाडो भगाउन

ती हातले बनाएको,

तातो चिया पिउन मन छ ।

दुई पल जिन्दगीका जिउन मन छ।

तर, तिमिलाई फुर्सद कहाँ छ र !

चियाको चुस्की,

सुरुप सुरुप गर्दै

संगै बसेर जिस्किदै,

हाँसो ठट्टा गर्दै।

तिम्रो एकोहोरो बोलि

मधुरो स्वरमा गायको गित सुन्दै

तिमी सँगै...

बेसुरे स्वरमा गुनगुनाउन मन छ ।

रमाइला कथा सुनाउन मन छ ।

तर, तिमिलाई फुर्सद कहाँ छ र !

चिसो मौसममा,

भिज्दाको थकान।

बर्दालिको बरबरे पानी,

थाप्न राखेको स्टिलको थाल

थालबाट आउने टिङ टिङ संगित सुन्दै।

तिम्रो काखमा...

नतमस्तक निदाउन मन छ।

झरिका दिन बिताउन मन छ।

हाँसेरै दिन कटाउन मन छ ।

तर, तिमिलाई फुर्सद कहाँ छ र !