सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला
2020/10/02, 2:59
 
lab

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार  सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन्।    विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरीएका हुन्।

शिक्षा मन्त्रालयको सामुदायिक विद्यालयमा विकास आयोजना कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पु¥याउने उद्देश्यले ती प्रयोगशाला स्थापना गरिएका हुन्। नगरपालिकाको शिक्षा शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार कालिका माध्यमिक विद्यालय असैना, सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहा, सरस्वती माध्यमिक विद्यालय अमरपुर र शिवशङ्कर माध्यमिक विद्यालय गर्जमुनिमा विज्ञान प्रयोगशाला स्थापना गरिएका छन्।

“प्रयोगशाला स्थापना गर्न मन्त्रालयबाट उपलब्ध  छ लाख ६० हजारका दरले रकम प्रयोगशाला स्थापनालाई छनोटमा परेका विद्यालयलाई उपलब्ध गराएका छौँ”, उनले भने, “ उपलब्ध रकमबाट  एक लाख ५० हजार प्रयोगशाला व्यवस्थापन र  पाँच लाख रकमबाट विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको छ।”

उपलब्ध गराइएको रकमबाट फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन र विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको उनले बताए। विद्यालयमा विज्ञान प्रयोगशाला स्थापनाका लागि उपलब्ध गराइएको रकम सदुपयोग भए नभएकोबारे अनुगमनको काम गरेको शिक्षा शाखा प्रमुख भट्टले बताए।

 विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने सिद्धबैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनसिंह महराले बताए। उनका अनुसार विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थी लाभान्वित हुने भएका छन्।      

विद्यालयमा प्रयोगशाला नहँुदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या थियो। कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक राघवप्रसाद अवस्थीले भने, “प्रयोगात्मक कक्षा सञ्चालनका लागि विद्यालयको आन्तरिक आयस्रोतबाट खरिद गरिएका थोरै सामग्री पर्याप्त नहुँदा विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी दिन सकिने अवस्था थिएन।

हाल विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन्।” उच्च गतिको इन्टरनेटसमेत जडान गरी विद्यालयलाई सूचना प्रविधिसँग जोडिएको उनले बताए। यसैगरी, नगरपालिका–१० मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय र वडा नं ७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा सूचना प्रविधिका लागि कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरलगायतको व्यवस्था गरिएको छ।

वडा नं ८ को सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा पुस्तकालय स्थापना गरिएको छ। सिद्धनाथ माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालय बन्साहामा रु सात लाखको लागतमा बाससहितको शौचालय निर्माण गरिएका छन्।