गुमनाम हुदैं देउडाका स्थापित गायक र पाका सर्जकहरु 
2020/10/03, 9:18
 
deuda

कुनै जमाना भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशी लगायत प्रसिद्ध देउडा गायकका गीतले  गाउँ सहर गुन्जायमान हुन्थे । उनीहरूका हरेक गीत सबैका ओठमा झुन्डिएका थिए । तर, अहिले समय परिर्वतनका कारण उति वेलाका चर्चित देउडा गायकका गीत ओझलमा परेका छन् । पाका सर्जकहरु गुमनाम बनेका छन् । पछिल्लो समय उदाएका र चर्चा कमाएका युवा कलाकार र देउडा गीतलाई व्यवसायिक धारमा अगाडी बढाएका गायकहरु भने नाम र दाम दुबै कमाईरहेका छन् । 

देउडा गीत सुदूरपश्चिमको प्रमुख पहिचानका रूपमा चिनिन्छ । देउडा गीतले यहाँको परिचय बोेकेको छ । केही वर्ष पहिले देउडा गीतका धेरै पारखी थिए । अहिले पनि छन् । तर, पहिलेका जति अहिले छैनन् । बदलिदो सुचना प्रविधिले क्यासेटहरु बिक्न र बन्न छोडेका छन् । चर्चित र अनुभवी देउडा गायकहरुले पनि गीत निकाल्न बन्द गरेका छन् ।

कुनै कोहीले फ्याट्फुट् निकाल्ने गीतहरु पनि विगतको जस्तो न त चर्चा कमाउन सफल भएका छन त आर्थिक पाटोको हिसाबले नै सक्षम भएका छन् । देउडाका पारखी मात्रै होइनन्, सर्जक÷स्रष्टा पनि कम हुँदै गएका छन् । आधा दशक पहिले जस्तो देउडा गायकको संख्या नि छैन, गीत पनि बजारमा आएका छैनन् । अहिले पनि देउडा गीत बजारमा नआएका होइनन् । तर, ती देउडा गीत देउडा गीत जस्ता छैनन् ।

केही वर्ष पहिले भारतबाट आउने हरेक प्रवासी सुदूर तथा मध्यपश्चिमेलीको हातमा एउटा क्यासेट बज्ने टेप हुन्थ्यो । त्यो टेपमा निकै मार्मिक देउडा गीत घन्किन्थे । तर, अहिले समयले निकै कोल्टे फे¥यो । अहिले भारतबाट आउने नेपालीको हातमा देउडा बज्ने टेप होइन महँगो मोबाइल हुन्छ् । त्यसमा देउडा गीत होइन आधुनिक शैलीका पप गीत बजेको सुनिन्छन् । हुन त यो समय परिवर्तनको माग होला । तर, समय क्रम फेरिए पनि देउडा गायक न हराउनुपर्ने सर्जकहरु बताउँछन् ।

देउडा गीत हराउनुमा देउडा गीत व्यावसायिक हुन सकेनन्, क्यासेटको जमाना हट्यो, माग अनुसारका गीत गाउन सकेनन् । एकताका चर्चित देउडा गायक÷गायिक हराए । हराएका भए के खोज्न सकिन्न रु यस्तो प्रश्न पनि उठ्छ । अवश्य सकिन्छ । तर, अब समयको माग अनुसारका गीत गाउन सक्नु पर्छ । गीत गाउनु मात्रै होइन त्यस्तै संगीत, त्यस्तै शब्द दिन सक्नु पर्छ । अनि मात्रै पूराना चर्चित देउडा गायक कम ब्याक भएको अर्थ रहन्छ ।

अहिलेका दर्शक तथा श्रोता गालामा हात लगाएर सुन्ने देउडा गीतमा रुचि कम राख्ने गरेका छन् । त्यस कारण देउडा गायकले अलि–अलि भए पनि कर्मर मर्काउने गीत ल्याउन सक्नु पर्छ । अहिले नाच्न सकिने गीतले मात्रै बजार पाएको छ । यो समयमा दुःख परेका गीत ल्याएमा त्यो नचल्ने अवस्था आएको छ । देउडा गीतलाई व्यावसायिक धारमा समयमै नढाल्नाले एक समयमा चर्चित देउडा गायक अहिलेका युवा पुस्ताले नचिन्ने अवस्था आएको छ ।

आगामी युवा पुस्तालाई पनि देउडा गीत यस्तो हुन्छ है भन्ने सन्देश दिन पूराना देउडा गायकले नयाँ गीत ल्याउनु पर्छ । नयाँ गीतले युवाको मन जित्न सक्नु पर्छ । अब युवालाई रमाइलोसंगै सन्देश सहितको गीतको खाँचो छ । यस्ता गीत गाउनमा पूरानो पुस्ताका गायक गायिकाले जोड दिन सक्नुपर्छ । मनोरञ्जन रहितको गीत भएकाले नयाँ पुस्ताले देउडा गीत कम सुन्ने गरेका छन् । त्यसैले, अब मनोरञ्जन सहितका देउडा गीत आवश्यक छन् ।

झण्डै आधा÷एक दशकअघि भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशी, हरिना साउँदा, डिग्रा बदेनी लगायत शिर्ष देउडा गायक÷गायिका हरेक मेला÷महोत्सवमा पुग्ने गर्दथे । र, आफ्ना लोकप्रिय देउडा गीत गाउँथे । तर, ती गायक÷गायिकाहरू आजकल आयोजना हुने मेला÷महोत्सवमा आक्कल–झुक्कल देखिन्छन् । मेला÷महोत्सवमा उनीहरूले त्यही पूरानै देउडा गीत गाएर दर्शक तथा स्रोतालाई सुनाउँछन् ÷ देखाउँछन् । 

सुदूरपश्चिमेलीहरुको  ढुकढुकी रहेको देउडा गीत पछिल्लो समयमा लोप हुँदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरू लोक दोहारी, आधुनिक संगीततिर आकर्षित हुँदा  देउडा गीत लोप हुँदै गएको हो । सुदूरपश्चिममा डाँडापाखामा, गोरु गोठालो जादा, मेला पात जादा  देउडा गीत निकै  गुन्जिने  गथ्र्यो  तर आज भोली यी र यस्ता गीतहरु सुनिन छोडेका छन् । 

सुदूरपश्चिमका चर्चित देउडा गायक नरेन्द्रराज रेग्मी  भन्छन्– ‘रिमिक्स, आधुनिक, लोक गीत संगीतहरूले समयको परिर्वतन सँगै बजारमा ओगट्दै गएपछि देउडा संस्कृति संकटमा पर्दै गएको देखिन्छ ।’ उनले भने–‘प्रविधिको विकासले आफूहरूको पेसालाई नै संकटमा पारेको छ । यसमा राज्यले विशेष ध्यान दिनुपर्छ । नत्र देउडा संगीतमा लागेका नवोदित कलाकार यो पेसा नै त्याग्न थाल्नेछन ।’

देउडा गायक तथा गायिकाले अहिले बजारको माग अनुसारका देउडा गीत आउन सकेका छैनन् । बजारले पूराना देउडा गायक÷ गायिकाका नयाँ देउडा गीत खोजेको छ । तर, देउडा गायक÷गायिकाले भने नयाँ देउडा गीत ल्याउने सुरसार देखिन्न । देउडा गीत ल्याए पनि बजारमा खासै सुन्न पाइनन् ।

केही वर्ष पहिले देउडा गीत चर्चासंगै व्यावसायिक रूपमा पनि सफल बन्दै गएका देखिन्थे । तर, अहिले भने देउडा गीत व्यावसायिक रूपले सफलता हासिल गर्न सकेको छैन । यसको प्रमुख कारण देउडा गायकले बजार अनुसारका गीत ल्याउन नसक्नु हो । घाँस, दाउँरा गर्दा अहिले गुमनाम भएका देउडा गायकका गीत खुब सुनिन्थ्यो ।

उनीहरूका गीतमा भिज्दै घरायसी काम गर्दा समय गएको पत्तो नै हुन्थेन । तर, अहिले त्यो समय फेरिएको छ । अहिले घाँस–दाँउरा गर्दा कमै सुदूरपश्चिमेली देउडा गीत सुन्छन् । उनीहरू देउडा गीतभन्दा बढ्ता अन्य शैलीका गीत सुन्न रुचि राख्छन् । यस्तो हुनुका धेरै कारण छन् । 

जस्तै–देउडा गायकले बजारको माग अनुसारका गीत ल्याउन नसक्नु, समयको परिर्वतन, देउडा गीत लोप हुँदै जानु इत्यादि । केही वर्ष पहिलेका चर्चित देउडा÷गायिका अहिले विभिन्न क्षेत्रमा समर्पित भएका छन् । उनीहरूले देउडा गीत गाउन छोडेर कोही अमेरिका, कोही जापान, बेलायत भासिएका छन् । बजारमा देउडा गीत नचल्ने भएपछि नै शायद उनीहरू एकपछि अर्को गरी पलायन भएका हुन सक्छन् ।

यस्तै, देउडा गीत गाएर बाँच्न नसकिने भएर पनि अधिकांश देउडा गायक÷गायिका विदेश हानिएका छन् । पहिले विदेशमा गएका प्रवासी नेपालीका दुःख, बेदना गीतमा उतार्ने देउडा गायक÷गायिका आफैं विदेश जानुका बाध्यता कसैले बुझ्न सकेका छैनन् । 
देउडा गीतले सुदूर तथा मध्यपश्चिमको मौलिकपन बोकेको छ । तर पनि राज्यले देउडा गीतमा समर्पित भएका व्यक्तिका लागि बाँच्ने आधार तय गरेको छैन । देउडा गायक÷गायिकाले न राम्रोसंग स्टेज कार्यक्रम पाउँछन नत अन्य सुवधा नै । विभिन्न मेला महोत्सवमा देउडा गायक÷गायिकालाई अबसर दिइने भए पनि उनीहरू थोरै समय र न्यून पारिश्रमीक पाउँछन् ।

देउडा गायक÷ गायिकालाई बाँच्न गाहे छ । त्यही भएर पुराना देउडा गायक÷गायिका पनि गुमनाम जस्तै छन् । उति बेलाका नाम र दाम कमाएका देउडा गायकलाई मेला महोत्सवले खासै चाँसो राख्दैनन् । दर्शक तथा स्रोताको दबाबका कारणले आयोजकले देउडा गायकलाई मेला महोत्सवमा ल्याएका हुन् भनेर सजिलै अनुमान लगाउने अवस्था छ । यस क्षेत्रमा हुने मेला महोत्सवले पनि देउडा गायकलाई यस्तै व्यवहार गरेको महसुस गर्न सकिन्छ ।

देउडा गीत लोप हुँदै गएपछि एल्बम निकाल्न  र  स्वर दिन पनि छोडेको चर्चित  देउडा गायिका हरिना साउँद बताउँछिन् । सुदूरपश्चिमका चर्चित देउडा  गायक गायिकाहरुले  देउडा एल्बममा स्वर दिन छाडे पनि उनी आफ्नो कला संस्कृति, बोलीभाषा र  विशेष गरि  देउडा गीतलाई नछोडने तर्क गर्छिन् ।

उनी भन्छिन्–‘महोत्सवमा आयोजकले खासै देउडा गायकलाई स्थान दिएको पाइँदैन । स्थान दिए पनि त्यही दश, पन्ध्र मिनेट । यस क्षेत्रको कला, संस्कृतिको जगेर्नाका निमित्त आयोजना हुने मेला महोत्सवमा देउडा गायकलाई स्थान नदिएको देख्दा आयोजकले केबल व्यवसायका लागि मात्रै आयोजना गरेको महसुस हुन्छ ।’ मेला महोत्सवका आयोजकले देउडा गायकलाई नजिकको तीर्थ हेला भन्ने भनाइलाई अख्तियार गरेको पाइन्छ ।