फैलिँदो संक्रमण र उदासिनताका बीच चाडपर्वमा स्वयम सजग हुन आवश्यक 
2020/10/09, 6:47
 
editorial

कोरोना भाईरस फैलिन नदिन आफू बसेकै ठाउँमा यसपालीको चाडपर्व मनाउन अपील गरे पनि सरकारले त्यसको व्यवस्थापनमा भने कुनै पहल गरेको छैन । सार्वजनिक यातायात चलिरहेका छन् भने लामो दूरीका सवारी चलेको एक महिना हुन लागेको छ । गृह नगर जाने मानिसहरुको आवागमन जारी नै छ भने दशैंको यातायात बन्दोबस्त पनि भैरहेको देखिन्छ ।

तर सरकार भन्छ यो वर्षको दशैं जो जहाँ छ, त्यहीं बसेर मनाऔं । देशभर कोरोना संक्रमणको दर बढेको जान्दा जान्दै पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष जो जहाँ छ, त्यहीँ बसेर दशैं मनाउन अपिल गरेको छ तर व्यवहारमा पुरै उदासिन देखिन्छ । कोरोना महामारीबीच पनि सबैतिर सार्वजनिक यातायात चलेका छन् ।

सुदुरपश्चिमका कोरोना प्रभावित शहरबाट गाउँ जाँदा कोरोना पनि पुग्ने कुरामा कुनै शंका रहेन । निषेधाज्ञा खुलेसँगै निस्केका मानिस मार्फत सर्नसक्ने भाइरस गाउँ पसिसकेको छ । स्थानीय निकायले पनि गाउँ आएका नयाँ मानिसको स्वास्थ्य अवस्थाबारे चासो राख्न छोडिसकेको छ । भारतमा आउनेहरु पनि सिंधै गाउँघर जाँदा यसले जोखिम वढाएको छ ।

त्यसैले चाडपर्वका वेला हुन सक्ने कोरोनाको सम्भावित जोखिमबाट बँच्न स्वयम आफैले सजग र सचेत हुनुको विकल्प छैन । त्यसैले सुरक्षित रुपमा सुरक्षा सर्तकता अपनाएर चाडपर्व बनाउन तर्फ सबैले ध्यान दिन आवश्यक रहेको छ ।