कैलालीको घोडाघोडीमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्र अलपत्र 
2020/11/17, 12:41
 
lake

घाईते अवस्थाका वन्यजन्तुहरुको उद्धारको लागि कैलालीको घोडाघोडीमा निर्माण थालिएको वन्यजन्तु उद्धार केन्द्र अलपत्र परेको छ । नगर सरकारले निकै महत्वपूर्ण र आवश्यकताका साथ गत आर्थिक वर्ष २०७६, ०७७ मा १६ लाख विनियोजन गर्दै पर्यटन विकास बोर्ड मार्फत जग्गा घेरबारको काम गरेको थियो ।

उद्धार केन्द्रको गेट निर्माण तथा आवश्यकता अनुसारका अन्य संरचना निर्माणको काम भने हुन सकेको छैन । जसका कारण उद्धार केन्द्र अपूर्ण बनेको छ । आवश्यकता महसुस गर्दै निर्माण थालिएको उद्धार केन्द्रलाई पूर्ण बनाउन नगर सरकार तथा पर्यटन विकास बोर्डले कुनै चासो दिएका छैनन् । उद्धार केन्द्रको निर्माणका लागि चालु आर्थिक वर्ष २०७७, ०७८ मा कुनै बजेटको व्यवस्था गरिएको छैन ।

दिगो लक्ष्य सहितको काम गर्नु पर्ने सरकारले कार्यकर्ता रिझाउन हचुवाको भरमा बजेट विनियोजन गर्ने र आयोजना अलपत्र पारेको स्थानीयहरूको आरोप छ ।  बृहत घोडाघोडी पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले भने रकम अभावमा यस वर्ष वन्यजन्तु उद्धार केन्द्रलाई बजेट विनियोजन गर्न नसकेको बताए ।

आफुहरुसँग पर्याप्त बजेट नभएको र  यसका लागि विभिन्न ठाउँमा प्रस्तावना पेस गरेकोले कहीँ कतै स्वीकृत भए मात्रै काम अघि बढ्ने उनको भनाई छ । नगर सरकारले बृहत घोडाघोडी पर्यटन विकास बोर्डका लागि यस वर्ष २० लाख रुपैयाँ विनियोजन गरेको छ । सो रकममा पनि उद्धार केन्द्र निर्माणका कामले प्राथमिकता पाउन सकेको छैन ।