कविताः आगो
2020/11/21, 2:10
bhansingh dhami

आगो बल्दछ घामले सगरमा झुल्केर निस्केपछि
माटो जल्दछ बालुवा बगरमा अत्यन्त जिस्केपछि
सुक्छन् सागरका कुनापनि सबै फैलेर आए रवि
मैलो  नष्ट भएर कष्ट सहँदा फैलिन्छ हाम्रो छवि।
।।१।।

आगो शक्ति हुँदा सबै जगतमा आए रमैला दिन
आगो मुक्ति महत्व तत्व छ जले कालो तुवाँलो चिन 
चाँडै भेट्न महान प्रमिथसले खोज्दैछ मान्छेहरु
आगो बल्दछ  फैलिए समयले सम्पूर्ण मान्छेहरु।
।।२।।

मान्छेका मनमा हजार सपना आएर आगो बले
वैरीका छलछाम मन्त्र मसिना झर्छन कि दियो जले
आगो सैनिकले सबै युवकले बालेर पो ! बल्दछ
मौका यो कपटी रहे जगतमा आँधी हुरी चल्दछ ।
।।३।।

भाग्दैनन् हलुका पतङ्ग सजिलै झाडो नलाए पर
माग्दैनन् बचरा उडेर कनिका चारो नआए वर
गाढा  बन्दछ एकतासित उठे बन्थ्यो सुनौलो घर
टाढा लाग्दछ दुष्टले समयमा पाए कडा उत्तर।
।।४।।

आगो ज्ञान बनेर बल्छ मनले उर्जा उचाली उठे
सम्हाली सबथोक एक बलले सारा निरासा टुटे
आँखामा मुखमा गला मगजमा आगो उकेल्दै उठ
थोत्रा कागजका सबै झुठ जुँघा तान्दै उखेल्दै उठ ।
।।५।।