अनुष्टुप छन्दको कविताः व्यक्ति  र व्यक्तित्व
2020/11/21, 2:14
nirmal bhandari

व्यक्ति छन् आज धेरै नै–तर व्यक्तित्व छैन है,
साज–सज्जा र श्रृङ्गार–वाक्पटु मात्र छन् सबै ।
                 ।।१।।

राम्रो व्यक्तित्व पहिचान – गर्नु पर्दा कहीँ कतै,
वेशमा चालमा हैन – वाणीमा गर्नु पर्छ है !
                ।।२।।

कस्तो बोल्दछ मान्छेले – शिष्टता या अशिष्टता,
सोही बाट बुझे हुन्छ – व्यक्तिको ऊँच नीचता ।
                ।।३।।

छिप्न सक्दैन मान्छेको – बोलीको कर्कसेपन,
मीठो बोल सबैसंङ्ग – बिताऊ भद्र जीवन ।
                ।।४।।

दाम पर्दैन बोलीमा – मीठो बोल्दा कतै पनि,
त्यसैले नमिठो बोली – बोल्नु हुन्न कहीँ पनि ।
                ।।५।।

सभ्यता शब्दमा हुन्छ – भेषमा कत्ति हुन्न है,
चेतनावान मान्छेले – नमिठो बोल्नु हुन्न है ।
।।६।।
बोलीले बन्छ आफन्त – बोलीले हुन्छ शत्रुता,
बोली हो चुम्बकै जस्तो – गर्छ दूर समीपता ।
                 ।।७।।

विश्वमै मित्रताराख्ने – चाहना यदि त्यो भए,
व्यष्टि देखि समष्टीमै – मिठो बोल सदैव रे ।
                 ।।८।।

विनम्रता सधै लेऊ – विश्व मानव मञ्चमा,
अहंकार सबै फाली – आउलौ सभ्य मञ्चमा ।
                ।।९।।

महाआत्मा त्यहीँ हुन्छ – जो हुन्छ नम्र सेवक,
अहंकारी र दम्भीको – को बन्ला लोक पुजक ।
                  ।।१०।।

वाणी व्यक्तित्व आधार – वाणी हो श्रेष्ठ जीवन,
सम्मान नम्रता साथ – मीठो बोल सबै जन ।
                   ।।११।।

चाहिन्न खड्ग बन्धूक – हतियार कुनै पनि,
मान्छेका शब्दमा जम्मै – त्यही सामथ्र्य हुन्छ नि ।
                  ।।१२।।

गर्न निर्माण संसार – स्व निर्माण गरौन है,
जस्तो बन्दछ जो मान्छे – उस्तै संसार बन्छ है ।
                ।।१३।।

मुखले अर्ति आदेश – दिने भन्दा पनि ठूलो,
व्यवहार बाट जो दिन्छ – मान्छे हो त्यहि नै भलो ।
                ।।१४।।

परिवार समाजैमा – लागु हुन्छ यही रिति,
जाँ हुन्न पालना यस्को – त्यहीँ होला नि वेथिति ।
                   ।।१५।।

आफू दुष्कर्म गर्नेले – उपदेश दिनू किन ?
उपदेश दिने मान्छे – ज्यूँदैन हीन जीवन ।
                 ।।१६।।

सविता आफू चम्केर–चम्काएको छ नौग्रह,
चन्द्रको ज्योति देखिन्छ – सविताको अनुग्रह ।
                 ।।१७।।

सूर्यका साथमै घुम्छन्–प्रकाश लिइ सूर्य कै,
गर्छन् नक्कल मान्छेले–भला बुरा मनुष्य कै ।
                 ।।१८।।


चीज बन्दछ त्यस्तैनै–जस्तो साँचो छ निर्मित,
साँचो बनाऊ ए मान्छे ! उच्च आदर्श संस्कृत ।
                 ।।१९।।

साँचो बन्नुछ हामीले–गीलो मट्टीछ मानव,
हामी जसो–जसो बन्छौ–बन्नेछन् त्यहि नै सब ।

               ।।२०।।

 

निर्मलकुमार भण्डारी