बैतडीमा दुई स्थानीय तहका विद्यालय पुनः बन्द
2020/12/05, 9:28
 
corona

कोरोना सक्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन्।  जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन्। कोरोना सङ्क्रमण फैलन नदिन यी दुवै स्थानीय तहमा  लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् । दशरथचन्द नगरपालिकाकाले मंसिर २२ गतेसम्म लकडाउन गरेकाले विद्यालय पनि बन्द रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए। उनले भने, ‘दुई दिन सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन्।’ 

यस्तै डिलाशैनी गाउँपालिकाले पनि मंसिर २६ गतेसम्मका लागि लकडाउन गरेको छ। लकडाउन गरेकाले गाउँपालिकाभित्रका विद्यालय बन्द भएका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले बताए। जिल्लाका अन्य आठ वटा  स्थानीय तहहरुमा शिक्षण सिकाइ निर्देशिका २०७७ अनुसार  विद्यालय सञ्चालनमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। उनले भने, ‘जोखिम कम भएका स्थानीय तहका विद्यालयमा पठनपाठन भइरहेको छ।’

बैतडीमा हालसम्म ५७० जनामा संक्रमण देखिएको छ।  संक्रमितमध्ये ६५ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ४२ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा १६, पाटन नगरपालिका चार, पुर्चौंडी नगरपालिकामा दुई र दोगडाकेदार गाउँपालिकामा एक जना सक्रिय सङ्क्रमित रहेका छन् ।