सरकारले अनुमति नदिए पनि पुस १० गतेबाट सिनेमा हल सञ्चालन गर्ने घोषणा
2020/12/14, 6:03
 
Movie

सरकारले अनुमति नदिए पनि हल सञ्चालकहरुले पुस १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका छन् ।

बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा गर्नुपर्ने अवस्था आएको चलचित्र संघले जनाएको छ ।

लकडाउन पुर्णरुपमा हटाई मुलुक भर सबै क्षेत्र सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वीकृति प्राप्त नभएको हँुदा यस्तो निर्णय गरिएको संघले जनाएको छ ।

संघले नेपाल सरकारको सुरक्षा विधि तथा डब्लु एच ओ को सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने मिति स्वयं घोषणा गरी सरकारले पूरा गर्नुपर्ने केही माग का लागि चरणबद्ध आन्दोलनको थालनी गर्ने कार्यक्रम रहेको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

९ महिना हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको संघले जनाएको छ । चलचित्र संघले यसलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन पनि आग्रह गरेको छ ।

हल संचालकहरुले चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने, चलचित्र घर संचालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज पूर्णरुपमा मिनाहा हुनपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने लगायतका माग राखेका छन् ।