सुदूरपश्चिमको देउडामा नयाँ प्रयोगः थारु गायिकाले गाईन् देउडा (भिडियो सहित)
2020/12/16, 11:56
 
balo jiban

सुदूरपश्चिमको देउडामा नयाँ प्रयोग भएको छ । यसअघि यहाँका देउडा गीतहरुमा चर्चित तथा अन्य क्षेत्रका गायक गायिकाहरुको स्वर रहदैं आएकोमा त्यसमा नौलौ प्रयोग भएको हो । सुदूरपश्चिमकै युवा गायक एवम संगीतकार विष्णु भट्टको संगीत रहेको बालो जोवनको गीतमा थारु समुदायकी गायिकाले स्वर दिएकी छिन् । थारु गीतकी नम्बर वान गायिका अन्नु चौधरीसँगै गीतका संगीतकार रहेका विष्णु भट्टको पनि स्वर रहेको छ । 
 

केटीः वालो जोवन सुम्प्याँ मैले बाला साईका हात 
केटाः ज्यान गया लै मेरी सुवा छोड्न्याँ छैन साथ ।

यो गीतमा सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय भाषिक लवज  लेखिएको गीतलाई आधुनिक लयमा ढाल्ने प्रयास गरिएको छ । संयोग श्रृंङ्गार अर्थात् प्रेममा समर्पणको गहिरो भाव बोकेको सन्देश गीतको रहेको छ । यो गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको रचना सुदूरपश्चिम जन्मथलो भएका युवा कवि सोझो गाउँलेले गरेका हुन् । 

केटीः रानीलेक हिउँ पड्याको राई सल्लो ढल्याको
       साई तम्रा सासले मेरो धुकधुकी चल्याको ।
केटाः पिपलबोट पिङ हाल्याको एक डोरी चुन्ड्याको
         सुवाका घाँटीउँदो मेरो परानी झुन्ड्याको ।

लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेका सुदूरपश्चिमकै केशव गिरीले यसलाई बजारमा ल्याएका हुन् । आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्दै समय परिस्थिति अनुसार त्यसलाई परिवर्तन र परिमार्जन गर्दै जानुपर्छ भन्ने मान्यताका साथ देउडामा नयाँ प्रयोग गरिएको गीतलाई आफूले लागानी गरेको निर्माता गिरीको भनाई छ । नयाँ तथा प्रतिभावान कलाकारलाई अवसर दिएको र उनीहरुले निकै मिहिनेतका साथ खटेर काम गरेकाले गीत श्रोता दर्शकले  रुचाउने विश्वास उनको रहेको छ ।

अहिलेसम्म कविको रूपमा मात्र चिनिएका सोझो गाउँलेको यो रेकर्ड भएको पहिलो गीत हो । ‘गीत त डायरीभरि  छन् तर रेकर्ड भएको यो मेरो पहिलो गीत हो । हेरौँ श्रोताहरुले कत्तिको रुचाउँछन् ।’ सोझो गाउँलेले भने । सुदूरपश्चिममा बोलिने भाषा, शब्द र बिम्वलाई टिपेर आफूले गीत लेखेको र संगीत, स्वर र भिडियो पनि आफूलाई मन परेको आफ्नो गीतलाई न्याय भएको कुरा उनले बताए । 

गीतको भिडियोमा पुराना तथा अनुभवी याम गुरुङको निर्देशन र विरेन्द्र भाट ’विपिन’ को सम्पादन रहेको छ भने महेश महराको छायाकन रहेको छ । यो देउडा गीतमा रुसको राजधानी मस्कोमा आयोजित प्रिन्सेस अफ दि युनिभर्स २०१७ की विजेता रक्षा थापा, २०१९ की नेपाली मिस टिन प्रतिभा रानी राई, रङ्गकर्मी जीवनजङ्ग थापा र कान्ति बाल अस्पतालका चिकित्सक राजु गिरीको यसमा अभिनय रहेको छ ।