बढ्दो संक्रमण, घट्दो परिक्षण
2020/12/18, 11:32
 
corona

करिब ३० लाख जनसंख्या अनुमान रहेको सुदूरपश्चिम प्रदेशमा हालसम्म सवा लाख जतिमा पीसीआर विधिबाट कोरोना जाँच गरिएको छ । गएको जनगणनाको तथ्यांकलाई आधार मान्ने हो भने पनि साढे २५ लाखभन्दा बढी जनसंख्या रहेको सुदूरपश्चिममा पाँच प्रतिशतभन्दा कमको मात्र कोरोना परिक्षण गरिएको छ । अझ सहरी क्षेत्रमा परिक्षण बढी छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने धेरैजसो मानिसमा कोरोना परिक्षण हुन सकेको छैन । संक्रमितको सम्पर्कमा आउने र भारतबाट फर्कनेको संख्या ग्रामीण क्षेत्रमा उच्च छ तर खासगरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा स्वाब संकलन कार्य हुन सकेको छैन । जिल्ला सदरमुकाममा पनि कोरोना परिक्षण गर्नेको संख्या न्यून छ । हिजो आज संक्रमितको सम्पर्कमा आएकाहरुकै परिक्षण हुन छाडेको छ ।

हालसम्म परिक्षण गरिएकामध्ये साढे १२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय जटिल अवस्थाका कोरोना संक्रमितको संख्या बढ्दो छ । यसले कोरोना संक्रमणबाट मृत्यु हुने दर पनि बढेको छ । चिसोयाम सुरु भएको छ । चिसोमा रुघाखोकी, निमोनिया लगायत समस्या बढ्ने भएकाले कोरोना संक्रमण पनि बढ्ने चिकित्सकहरुले अनुमान गरेका छन् । सुरुमा संक्रमण देखिएका अधिकांशमा लक्षण देखिने थिएन, रुघाखोकी, स्वासप्रस्वासमा समस्याजस्ता लक्षण भएका संक्रमित बढ्दै छन् ।

जटिल अवस्थाका संक्रमित बढेपछि स्वास्थ्य संस्थाहरुमा पनि चाप बढ्न थालेको छ । प्रदेशभर हालसम्म ६७ जना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा गत चैत महिनामा पहिलो पटक देखा परेर फैलिदै गएको कोरोना सङक्रमण कारण हुने मृत्यु दर पछिल्ला दिनमा उकालो लागेको छ । पछिल्लो १५ दिनयता मात्रै प्रदेशमा आठ संक्रमितको मृत्यु भएको छ । संक्रमण दर बढ्न सक्ने अनुमान गरिएको सिजनमै परिक्षण दर भने घट्दो छ । हिजोआज ‘कन्ट्याक्ट टे«सिङ्ग’ हुनै छोडेको छ । जसले गर्दा संक्रमण फैलन थप मद्दत पुगेको छ ।

लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ती र अन्यत्र ठाउँबाट आएर क्वारेन्टिनमा बसेकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको तर्क अधिकारीहरुको छ तर संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान गरी परिक्षण गर्ने क्रम घटेको छ । सुदूरपश्चिममा परिक्षण सुविधा विस्तार भएको छ तर परिक्षण दर भने बढ्नुपर्नेमा घट्दो छ । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई तथा डडेल्धुरा, डोटी, बैतडी र  अछाम अस्पतालमा व्यवस्थापन गरिएका एक एक मेशिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ भने महाकाली अस्पतालमा पीसीआर मेसिन ल्याइए पनि परिक्षण सुरु भएको छैन । परिक्षणको दायरा बढाउन सकेमात्र संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिने भएकाले स्थानीय तह र प्रदेश सरकारले परिक्षण बढाउनेमा ध्यान दिनु आवश्यक छ ।