दिवा खाजा कार्यक्रमले शिक्षामा बालिकाको पहुँच बढाउँदै
2020/12/23, 6:08
 
khaja

सरकार र विभिन्न सङ्घसंस्थाद्वारा सञ्चालित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण र दिवा खाजा लगायत कार्यक्रमका कारण शिक्षामा बालिकाको पहुँच बढ्दै गएको छ ।   सीमान्तकृत बालिकाको शिक्षामा पहुँच अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका स्थानीय तहका पदाधिकारीबीच धनगढीमा आयोजित कार्यक्रममा उनीहरुले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न लागू भएको दिवा खाजा कार्यक्रम सकारात्मक देखिएको बताए । 

सुदूरपश्चिम प्रदेशका झण्डै १२ वटा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रतिनिधि सहभागी उक्त छलफल कार्यक्रमबाट शिक्षामा सीमान्तकृतको पहुँच बढाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एउटा स्थानीय तहले गरिरहेको राम्रो अभ्यास अर्को स्थानीय तहले पनि कार्यान्वयन गर्न सक्ने भएकाले यस्तो छलफल निकै प्रभावकारी हुने बताए ।  उनले भने, “बालिकाहरुलाई सहजरुपमा शिक्षा प्रदान गर्नका लागि विद्यालयहरु पनि बालिका मैत्री हुनु र सम्बन्धित अभिभावकको सोचमा परिवर्तन आउन जरुरी छ ।”  धनगढी उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत महादेश जोशीले पहिलेको तुलनामा बालिकाको शिक्षामा पहुँच बढ्दै गएको बताए । 

अझै पनि भौगोलिक रुपमा विकट र चेतनाका दृष्टिमा पछि परेको कतिपय समुदायका अभिभावक आफ्ना बालिकालाई विद्यालय पठाउन विभिन्न कारणले सकिरहनु भएको छैन, उनले भने ।  बालिकाको शिक्षामा थप पहुँच बढाउनका लागि सम्बन्धित अभिभावकमा पनि चेतना फैलाउनु पर्ने देखिएको कार्यक्रमका सहभागीहरुको जोड थियो ।  मर्सिकोर नेपाल र ब्याकवार्ड सोसाइटी ऐजुकेशन (बेस) जस्ता संस्थाले कैलालीलगायतका जिल्लामा शिक्षामा बालिकाको पहुँच बढाउन सीमान्तकृत बालिकाको शिक्षामा पहुँच सहयोग परियोजना मार्फत विभिन्न सहयोग पु¥याइरहेको जनाइएको छ ।