मलाई मेरा सपनाहरुको चिन्ता छ
2021/01/07, 10:33
 
deepak joshi main photo

मलाई मेरा सपनाहरुको चिन्ता छ,
मलाई मेरा विपनाहरुको चिन्ता छ 
भन्न त भन्छन् कसैले यो त खराब भैसक्यो, 
तर मलाई खराब हैन
सुन्दर कल्पनाहरुको चिन्ता छ ।।

हिजो जे भयो रमाइलै भएको हो 
अहिले झन् जिन्दगी घमाइलो भएको छ 
साथ छ मायाको, आश छ सुन्दर भविष्यहरुको 
त्यसैले त झस्काइरहने मेरा चाहनाहरुको चिन्ता छ ।।


फोन आउँछ आमाको, छोरा स्वास्थ्यको ख्याल गर्नू
बाबाले भन्छन्, तातोपानी नछुुटाई खाने गर्नू
श्रीमति छिन् साथमा परे ज्यान दिन तयार 
मेरो प्राण उनीहरुका मलाई भावनाहरुको चिन्ता छ ।।

के हो कसो हो थाहा छैन गन्तव्य 
पक्कै होला एक दिन मेरो संसार भव्य 
जीवन यात्रा हो भनिरहन्छन् सबैले 
कहाँसम्म पुग्छु खै मलाई सिमानाहरुको चिन्ता छ ।।

प्रायः सधैँ डुलिरहन्छु सपनाहरुको बगैँचामा
कहिले पुग्छु बादलपारी जून फुलेको शहरमा 
भेटिएको छैन कतै आँसु लुकाउने ठाउँ 
संघर्ष त कति हो कति 
मलाई साधनाहरुको चिन्ता छ 
मलाई मेरा सपनाहरुको चिन्ता छ, 
मलाई मेरा विपनाहरुको चिन्ता छ ।।