रियल कमरेडः जसले त्यतिबेलै थाहा पाएँ कमरेडको अर्थ
2021/01/09, 11:02
yadav joshi

जब उमेर ढल्किदै जान्छ, तब मान्छेले भिर्दै जान्छ सम्झनाको बाक्लो पछ्यौरी। बेलाबखत गुटमुटिन्छ त्यही सम्झना रुपी पछ्यौरी भित्र। बहुत प्रिय बनिदिन्छन् विगतका ती दिनहरु। यादव प्रसाद जोशीको स्मृतिपटलमा पनि झुल्किदिन्छन् ती प्रिय दिनहरु। अनि केही जीवनका गौडाहरुमा देखापरेका र केही क्षितिज पारि पुगिसकेका अनुहारहरु।

2

तिनै यादव जोशी २०३४ सालमा पहिलो पटक बाजुरा पुगे। बिएडको नतिजा आइसकेको थिएन। बुवाले पहाडमा घर बनाइरहेका थिए। तत्कालिन बाजुराका जिसिओ पुष्पराज जोशीले शिक्षण गर्न बोलाए छन्। बुवाले पनि भन्नुभएछ–‘जाउ न त दुईचार महिना काम गर।’ त्यसपछि उनी हिँडेका हुन् मास्टर बन्न। त्यति बेला प्राविधिक भत्ता समेत गरेर ६ सय ५० रुपैयाँ तलब थियो। दूर्गम भत्ता समेत गरी मासिक १३ सय रुपैयाँ बुझ्थे उनी। उसो त बीचमा उनले सुर्खेतबाट लोकसेवा आयोगको परीक्षा पनि दिए तर निस्किएन नाम। तत्पश्चात लामो समय रमाए बाजुरामै। उनी बाजुरा गएकै वर्ष परिवार तराई झरे। अब घरपरिवारसँग भेटघाट गर्न जाँदा पनि निकै दिन हिँड्नु पर्ने भयो। 

2

‘दुई दिन लाग्थ्यो डोटीबाट हिँडेर बाजुरा पुग्न। अछामको बाटो भएर जानु पथ्र्यो। सबैले त्यति दूर्गममा गयो भन्थे।  बिकट ठाउँ भनेर बाजुराको नाम सुन्दैमा अनुहार बिगार्नेहरु पनि भेटिन्थे। मान्छेको हेर्ने दृष्टिकोण हो। मलाई बाजुरा कहिल्यै नराम्रो लागेन्’– ती दिन सम्झिदै उनले सुनाए।  भानुदय मावी नौबिस टाटे बाजुराबाट जागिर सुरु गरेका उनी त्यही विद्यालयमा छँदा स्थायी पनि भए। भानुदयमा पढाउन्जेल देवराज जोशीको घरमा ‘पेइङ गेस्ट’ का रुपमा बस्न थाले। उनले दुईवटा गाई किनेर घरबेटीलाई दिए। जुन एउटा भर्खर व्याएको थियो भने अर्को ब्याउने। गाई किनिदिए बापत घरबेटीले उनलाई साँझ बिहान एक एक ग्लास दूध दिनुपर्ने मौखिक सम्झौता थियो। रमाएरै बसेका थिए उनी त्यहाँ। 

2

२०३७ सालमा पुगे मष्ठेश्वरी मावी डोगडीमा। जहाँ ९ वर्ष प्रधानाध्यापक बनेर बसे। त्यहाँ बस्दाका दिन सम्झिदै भन्छन् उनी– ‘खाद्यान्नको अभाव थियो। ४ महिना जति कोदो र बेथेको रोटी मात्रै खान पाइन्थ्यो। त्यो पनि बडा मुस्किलले। बोरा बेरेर शौचालय बनाएको थिएँ, जुन त्यो क्षेत्रकै पहिलो शौचालय थियो। चिजबहादुर श्रेष्ठ जिसिओ बनेर आएपछि जिल्लाका सबै प्रअलाई सरुवा गरिदियो। यसरी सरुवाको क्रममा म पुगेँ, मालिका मावी मार्तडी। जहाँ साढे पाँच वर्ष बसेँ। यसरी अठार वर्ष बाजुरामा शिक्षक बनेर बिताएँ।’ 

2
१९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका जोशीले एक्लै बिताए, जवानीका प्रायः दिनहरु। बिदाको समयमा मात्रै हुन्थ्यो परिवारसँग भेटभाट। २०३६ सालमा पहिलो सन्तानका रुपमा जन्मेका गौतम जोशीले साथ छोडेर गएको धेरै भएको छैन। श्रीमतीले पनि उनीसँग बिदा मागेर पुगिसकिन् क्षितिज पारि। तर ती छोडेर जानेहरु सबैले थपेर गए यादको दियोमा तेल। जलिरहेछ सम्झनाको धिपधिपे बत्ती। बेलाबखत एकान्तमा रसाइदिन्छन् आँखाका परेली। 

2

परिवार छोडेर एक्लै बस्दाका ती दिन सम्झिए उनले– ‘सुरुमा बाजुरामा जागिरे बन्दा परिवारको खुब याद आउँथ्यो। म पनि जान्छु भन्थिन्। तर परिवार लिएर बस्ने वातावरण थिएन। मार्तडी गएपछि त्यो वातावरण पाइएको थियो तर यता परिवार बिस्तार भैसकेको थियो। वर्षको तीन चोटी लगभग एक–एक महिनाको बिदा हुन्थ्यो। जसमा हप्ता दिन त आउन जानमै बित्थ्यो। बचेको त्यही बिदामा हो परिवारसँग भेटघाट हुने।’ हाइस्कुलसम्मका दिनहरु अति नै प्रिय लाग्छन् उनलाई।

2

ती दिनको दृश्य स्मृतिपटलमा बोकेर सुनाउन थाले– ‘धुलौटोमा कखरा सिकेँ। तीन कक्षामा पिजडाको सुँगा कविता पढाइ हुन्थ्यो।  ‘पद्मपब्लिक मावि डोटीबाट पन्ध्र वर्षकै उमेरमा (एक वर्ष बढाएर १६ बनाएपछि) एसएलसी परीक्षा दिएँ। अँग्रेजीमा कमजोर थिएँ। अँग्रेजीको पहिलो पेपर बिग्रिदा खुब रोएँ। मलाई थाहा थिएन सेकेन्ड पेपरमा बढी नम्बर ल्याउन सकेर दुबैको योगफल साठी आएमा पास भइन्छ भन्ने। अँग्रेजी पहिलो पेपरमा अठ्ठाइस र दोस्रो पेपरमा बत्तीस नम्बर गरी ठिक साठी नम्बर आइदियो र एसएलसी पास भएँ।’ 

2

२०५१ साल मंसिरमा सरुवा भई उनी आइपुगे कैलालीको शारदा मावी बैयाबेहडीमा। कसैले आउन नचाहेको एसएलसीमा तीन वर्ष लगातार निल आएको, एक मात्र मावी दरबन्दी भएको उक्त विद्यालयमा उनी आउँदाताका दस कक्षामा नौ जना विद्यार्थी थिए। उनले ती विद्यार्थीलाई अतिरिक्त कक्षाको साथै ट्युसनसम्मको व्यवस्था गरे। ६ जनाले एसएलसी उत्तीर्ण गरे। जसमा नारायणी बोहराले छात्रातर्फ सुदूरपश्चिम टप नै गरिन्। त्यही वर्ष उनले प्रवल गोर्खा दक्षिणबाहु पनि पाए। जुन–जुन विद्यालयमा उनले काम गरे, ती सबै विद्यालय हरेक दृष्टिकोणले अग्रस्थानमा देखा परे। तर, उनको आफ्नो जीवनमा अग्रस्थानमा देखापरिरहे केवल दुःखका पर्दाहरु। 

2

उनी बाजुरामा छँदै दुई वर्षको अन्तरमा आमा बुवाले संसार त्यागे। जेठो छोरा गौतम जोशीलाई १३ वर्षकै उमेरमा आफूसँगै बाजुरा लगे। त्यतिखेरै गौतमको मेरुदण्ड बाङ्गो भैसकेको थियो। जुन ‘फन्डिक एथिसिया’ भन्ने रोगको लक्षण रहेछ। बिमार बढ्दै जाँदा केही वर्षपछि लखनउ लगे। जहाँका डाक्टरले उपचार हुन सक्दैन भनिदिए। पछि काठमाडौं लगे। डा.उपेन्द्र देवकोटा, डा.डीबी शाह, डा. अशोक बास्कोटाको टिमले अलइन्डिया मेडिकल कलेज रिफर गरिदियो।

2

कृष्णप्रसाद भट्टराइले पार्टीका तर्फबाट पत्र लेखिदिए। जुन पत्रमा समावेश थियो, कमरेड शब्द। उनी सुनाउँछन् – ‘कमरेडको अर्थ साथी रहेछ भन्ने त्यतिबेलै थाहा पाएँ। पिएल सिंह र डा.चेतराज पन्तले पनि लेखिदिएका थिए पत्र। ती पत्रहरुकै आधारमा तुरुन्तै भर्ना गर्न त पाइयो तर त्यहाँका डाक्टरले पनि भनिदिए– ‘यो रोगको उपचार नै छैन।’ केही समयपछि श्रीमती मेनकालाई ‘ब्लड क्यान्सर’ देखियो। केही गर्दा पनि बचाउन सकेनन्। अश्रुपूर्ण नयन बनाएर जोशीले सुनाए, श्रीमतीले जानेबेलामा भनेका कुरा–‘गौतमको उपचार गर्नु नै हुनेछ। छोराछोरी जे जति पढ्न चाहन्छन् पढाइ दिनू। लेनदेनको सवालमा तिर्नुपर्ने छैन। लिनुपर्नेमा कसैले सम्झेर दिए देलान्। कतैबाट थाहा पाएर माग्ने काम नगर्नू होला। मेरो एउटा गहना यो कान्छी (सहयोगी)लाई दिइदिनू।’ 

2

श्रीमतीको साथ छुटेपछि जिन्दगी नै अपाङ भैसक्यो ठानेका उनी छोरा गौतमको कोठामा जान्थे। उनको टाउको मुसार्थे। खाने कुरा दिन्थे। आफ्नो कोठामा पुगेर कसैले नदेख्ने गरी आँसु खसाल्थे। जिन्दगीलाई सुख दुःखको मिश्रण ठान्ने जोशी सबैसँग मिल्न सक्ने भएका हुँदा बिस्तारै सम्हालिन थाले र एक्लो महसुस पनि गर्न छोडे। गौतम मेधावी छात्र थिए। इन्टर पास गरेका गौतम १३ वर्ष ओछ्यानमै पल्टिए। पल्टिएरै पनि दिनको एउटा पुस्तक पढेर सिध्याउँथे।

1

उनलाई किताब पुर्याउनै गाह्रो भैसकेको थियो। पछि बेलाबखत धार्मिक बहस पनि गर्न थाले गौतमले। बिस्तारै गौतमको आँखाको ज्योति गुम्यो, कानको श्रवण शक्ति गुम्यो। पछिल्लो समय म भगवानलाई देखिरहेको छु भन्ने गौतमलाई २ वर्षअघि मात्रै लगेर गए भगवानले आफ्नो घर। कान्छो छोरामा देखा परिसक्यो जेठोलाई देखिएको रोग। अहिले उनी ह्विलचियर प्रयोग गरिरहेका छन्। जोशीलाई यो रोगको औषधी पत्ता लागिसकेको र ३–४ वर्षमा बजारमा आइपुग्ने खबर सुन्दा आशा पलाएको छ, कान्छो ठिक हुनेछ भन्ने। 

2

शिक्षा क्षेत्रमा ठूलो योगदान छ यादव सरको। बाहिरबाट हेर्दा जति सामान्य देखिन्छन्, भित्र पनि उस्तै संवेदनशील, प्रेमिल मन भएका सहयोगी र परोपकारी भावना बोकेका व्यक्ति हुन् उनी। जो तरकारीमा आलु फिट भएझै हरेक परिवेशमा घुलमिल भैदिन्छन्। साना, ठूला, युवा, वृद्ध प्रायः सबैसँग एकनाशको पे्रमिल व्यवहार हुन्छ उनको। भित्रि वह लुकाएर हाँस्न सिकेका उनलाई घनगढीमा यादव सर भनेर चिन्छन् अधिकांशले। 

2

 (यसलाई हेमन्त विवशले नेपाली ब्रेकलिंकमा लेखेको छन् ।)