शहिद ! सम्झीने बितिक्कै
म केही सुन्दर बस्तु रातो सम्झन्छु।
जहानले
मेरो नाममा
श्रृङ्गार गर्ने, सिन्दूर पनि रातो ।
परिश्रम चुहिनै लाग्दा
रित्तिएर जान्छ कि भनेर
पसिना पुछेर सञ्चित गर्ने
हजुरबाको पछ्यौरा पनि रातो ।
बिबाहित श्रीमतीलाई
रङ्गको बुट्टै बुट्टाले
भर्ने चोलीको रङ्ग पनि रातो ।
तिजमा हातैभरि भिरेका
बिछट्टै सुहाउने चुराको रङ्ग पनि रातो ।
झन रङ्गहरुमा त
म सर्वप्रथम रातो सम्झन्छु।
सिफलको त्यो कचौरामा
उम्लदै गरेको रगत पनि रातो ।
आज झन तातो सम्झन्छु।
र सम्झन्छु !
सहिदको रगत रातो हुन्छ ।
कहिलेकाहीँ सम्झन्छु !
शहिदको त्यो रातो रगत
र त्यो झण्डाको रातो रङ्ग
एउटै एउटै किन हुन्छ ?
सायद
हिजो देखिएको प्रदर्शनमा
हरेक झण्डाहरु
शहिदकै रगतमा चोपिएर ल्याइएका हुन ।
र त राता देखिन्थे ।
कहिले किन सम्झन्न?
शहिदलाई
जन्म दिने
बीर्य
सेतो नै थियो भनेर ?
तर किन बारम्बार सम्झन्छु?
रजस्वलाको रगत ।
जो शहिदको रगत जस्तै रातो हुन्छ ।
अरुबेला
जे जसो सम्झिए पनि
यो बेला अरु केही सम्झन्न म।
बस !
त्यो सेतो बीर्यले जन्माएको
रातो शहिदको रगत सम्झन्छु।
सम्झन्छु एउटा जो
देशको लागी लड्यो र शहिद भयो ।
अनि उस्को शालिक बन्यो ।
सम्झन्छु अर्को
जो चुनाव लड्यो र नेता भयो ।
अनि देशको मालिक बन्यो ।
यो सम्झना हो हजुर
म त के सम्झन्छु के सम्झन्छु ?
कहिले
अबिरले रातै पारेको
शहिदको शालिक रातै सम्झन्छु।
तर कहिले किन सम्झन्न ?
त्यो शालिकको रातोले लुटेको
शहिदको श्रीमतीको सिउँदोको सिन्दुर पनि रातै थियो भनेर ।
शहिदको जहानको
सेतो जिवन किन कहिल्यै सम्झन्न ?
झन सिमामा
शहिदको रगत
जलेर उडेको कालो धुवाँ
आकाशतिर मडारिएको किन सम्झिन्थे ?
खाली
रातो मात्रै सम्झन्छु ।
म त
कहिले के सम्झन्छु ?
कहिले के सम्झन्छु ?
तर बारम्बार रातो रगत सम्झन्छु।
शहिदको तातो रगत सम्झन्छु।
जे सम्झेपनी हमेसा
............रातै किन सम्झन्छु ?
धत् रंगभेदी सम्झना ।