कांग्रेस मध्यावधि निर्वाचनको सामना गर्न तयार छ: नेता साउद
2021/02/15, 2:53
 
saud

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस मध्यावधि निर्वाचनको सामना गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले आइतबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस निर्वाचनमा जान कदापि नडराउने बताएका हुन् ।

“झण्डै दुईतिहाइ बहुमत ल्याएको पार्टीले संसद्लाई आफैँ विघटन गर्छ । सरकार चलाउन सक्दैनौ भन्छ भने नेपाली कांग्रेस काँतर पार्टी होइन । डरपोक पार्टी होइन,” नेता साउदले भने, “नेपाली कांग्रेसले चुनावमा जाने, चुनावबाट निर्वाचित हुने कुराबाट आत्तिनुपर्ने कुनै कारण छैन । कांग्रेस चुनावको सामना गर्न तयार छ ।”

सरकारले गरिरहेको हस्तक्षेपका कारण प्रहरी–प्रशासनको मनोवल खस्किएका कारण समाजमा आपराधिक मानसिकता बोकेका व्यक्तिहरुले प्रोत्साहन पाइरहेको उनको भनाइ थियो । नेता साउदले आपराधिक मानसिकताले प्रोत्साहन पाएकै कारण बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको बताए ।

“नेकपा सरकारले प्रशासनलाई, प्रहरीलाई जसरी राजनीतिकरण गरेको छ, हस्तक्षेप गरेको छ । प्रहरी प्रशसनको मनोवल गम्भीर रुपमा खस्केको छ,” उनले भने, “मनोवल ह्रास भएका कारण आपराधिक तत्वले प्रोत्साहन पाएका छन् । प्रोत्साहनको फलस्वरुप बैतडीको दोगडाकेदार गाउँपालिकामा बालिकाको बलात्कारपछि हत्या भएको छ ।”

नेता साउदले प्रहरी–प्रशासनसँग भागरथी हत्याकाण्डको तत्काल पारदर्शी ढंगले अनुसन्धान गर्न र हत्यारा पत्ता लगाएर पीडित परिवारलाई न्याय दिलाउन माग गरे । नेता साउद प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार हुन गइरहेको सरकाविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन दार्चुला जाने क्रममा डडेल्धुरा पुगेका थिए ।