कैलालीका नायक पुष्प खड्का भन्छन्- ‘देखेको सपनामा बाँच्न पाएको छु’
2021/03/27, 11:09
 
puspa khada

पुष्प खड्का न ‘चकलेटी’ अभिनेता हुन् न त ‘खस्रा’ । यी दुवै स्वरुपमा नदेखिने उनी नृत्यमा अब्बल मानिन्छन् । म्युजिक भिडियोमा निकै देखिएका यी अभिनेताको चलचित्रतिरको छलाङ लोभलाग्दो छ ।

‘नृत्य राम्रो गर्ने अभिनेता’ का रूपमा चिनिएका पुष्प अभिनयका कारण पनि दर्शकमाझ प्रिय बन्दै छन् । चलचित्र ‘अझै पनि’ मा सहायक भूमिका निर्वाह गर्दै चलचित्रमा डेब्यू गरेका पुष्पले ‘दर्पण छायाँ-२’ मा मुख्य भूमिका पाए ।

त्यसयता ‘मंगलम’, ‘दात भात तरकारी’, ‘मारुनी’ चलचित्रमा काम गरिसके ।  उनले ‘तिम्रो मेरो साथ’, ‘कृष्णलीला’ को भर्खरै छायांकन सकेका छन् । ‘कृष्णलीला’ चैत २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

आखिर पुष्पले चलचित्रमा कसरी छलाङ मारे ? उनको पृष्ठभूमि के हो ? पुष्पले भने, ‘म सानो-सानो काम गर्दै अगाडि बढेको हुँ । म्युजिक भिडियो, चलचित्र दुवैमा पाइला राख्नुअघि मैले धेरै संघर्ष गरेको छु ।’

०००

निद्रामा पुष्पले कैयौं सपना देखे । उनलाई ती तमाम सपना सम्झना छैनन् । तर, जागृत अवस्थामा उनले एउटै सपना देखे – चलचित्र खेल्ने, चलचित्रको ‘हिरो’ बन्ने । सानैदेखि त्यही सपनाको बाटो पछ्याउँदै पुष्पले संघर्ष गरे ।

कैलालीमा जन्मिएका पुष्पका बाबुआमा रोजगारीको सिलसिलामा भारतमा रहेका कारण पुष्पको आधा पढाइ नेपाल त आधा भारतमा भयो । कक्षा ६ सम्म भारतमा पढेपछि उनी जन्मथलो कैलाली आए । ८ कक्षामा भर्ना भए । विद्यालयमा कराँते, नृत्यलगायतका अतिरिक्त क्रियाकलापमा पुष्प अग्रसर भए । एसएलसी त्यहींबाट दिए । ‘प्लस टु’ भने कञ्चनपुरमा बसेर पढे ।

राजेश हमाल, झरना थापासँग अटोग्राफ लिने, फोटो खिच्नेको भीड थियो । पुष्प पनि त्यही भीड छिचोल्दै राजेश हमालको सम्मुख पुगे । उनलाई बोल्ने ‘कन्फिडेन्ट’ आएन । पुष्पले राजेशलाई छोएर मात्र फर्किए

होस्टेल बसेर ‘प्लस टु’ पढेका पुष्प भागेर चलचित्र हेर्न जाने गरेको स्मरण गर्छन् । उनले भागेरै नृत्य सिके । ‘प्लस टु’ सकेपछि अभिनय र पढाइ अगाडि बढाउने भन्दै पुष्प २०६३ सालमा काठमाडौं आए । आउनेबित्तिकै नृत्य सिक्न थालेका थिए । किनकि उनको बुझाइ थियो, हिरो बन्न नृत्य सिक्नुपर्छ ।

उनी काठमाडौं आएको केही दिनपछिको कुरा हो । रंगशालामा फूटबल प्रतियोगिता चलिरहेको थियो । पुष्प त्यहीं पुगे । उनले त्यहाँ कलाकार राजेश हमाल, झरना थापालगायत अगाडि बसिरहेको देखे । सानैदेखि चलचित्रको पर्दामा देखिरहेका कलाकारलाई आँखैअगाडि देखेपछि उनी दंग परे ।

राजेश, झरनासँग अटोग्राफ लिने, फोटो खिच्नेको भीड थियो । पुष्प पनि त्यही भीड छिचोल्दै राजेश हमालको सम्मुख पुगे । उनलाई बोल्ने ‘कन्फिडेन्ट’ आएन । पुष्पले राजेशलाई छोएर मात्र फर्किए ।

पुष्पलाई उनीहरू जस्तै अभिनय गर्नुथियो । चिनिनुथियो । तर चलचित्रमा जोडिने कसरी ? अभिनय गर्न के-के चाहिन्छ ? पुष्पलाई अत्तोपत्तो थिएन ।

‘हिरो बन्न अभिनय सिक्नुपर्छ’, पुष्पलाई कसैले भन्यो । अन्ततः उनी नाट्यकर्मी अनुप बरालको एक्टर स्टुडियोमा पुगे । पुष्पले अनुपसँग अभिनय प्रशिक्षण लिए ।
‘म पहिल्यैदेखि हरेक कुरामा राम्रो खोज्थें’, उनी स्वभावबारे बोल्छन् ।

अभिनय प्रशिक्षण त लिए अब उनलाई चलचित्रमा अवसर कसले दिने ? अभिनेता बन्ने अभिलाषा बोकेर उनी कैयौं ठाउँ पुगे, अडिसन दिए । तर, कसैले अभिनयको अवसर दिएनन् ।

पुष्प राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान, पर्यटन बोर्डलगायतमा हुने सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहन्थे ।

उनलाई लागेको थियो, ‘म्युजिक भिडियोमा अवसर पाएँ भने राम्रो गरेर देखाउँछु ।’

शुरुआतमा उनले रेडबुलको विज्ञापनमा देखिने मौका पाए । छोटो क्लिप विज्ञापन टेलिभिजनमा प्रसारण हुँदा पुष्प निकै खुशी भए ।

अब उनी चलेका म्युजिक भिडियो निर्देशककहाँ धाउन थाले । उनीहरू भन्थे, ‘फोटो छोडेर जानु । बोलाउँला ।’ यता आश्वासन, उता पनि आश्वासनले पुष्प हैरान जस्तै भए ।

त्यत्तिकैमा स्वर्गीय निर्देशक आलोक नेम्वाङ पुष्पका लागि ‘गड फादर’ का रूपमा भेटिए । आलोकसँग चिनजान भएपछि उनैले पुष्पलाई म्युजिक भिडियोमा अवसर दिए ।

पुष्पले हेमन्त शर्माको गीत ‘के माया गर्नुहुन्न र !’ मा अभिनय गरे । गीतले राम्रै चर्चा पायो । पुष्पले आलोककै निर्देशनमा चलचित्र ‘अझै पनि’ मा अभिनेताको साथीको भूमिका पाए ।

पुष्पलाई म्युजिक भिडियो र चलचित्रमा ब्रेक दिएका आलोकश्रीको निधन भयो । जसले पुष्पलाई लामो समयसम्म राम्रोसँग निदाउन दिएन । ‘उहाँ मेरो कला क्षेत्रको अभिभावक नै हुनुहुन्थ्यो । उहाँका कारण म्युजिक भिडियोमा काम पाइरहेको थिएँ । सहज भइरहेको थियो । उहाँको निधनपछि धेरै गाह्रो भएको थियो’, पुष्प सुनाउँछन् ।

पुष्पलाई चलचित्रको मुख्य भूमिकामा खेल्ने हुटहुटीले भने छोडेन । त्यही बीचमा शिव परियारको आवाजमा रेकर्ड भएको उनले अभिनय गरेको ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ सांगीतिक भिडियो सार्वजनिक भयो । यसले बजारमा निकै चर्चा बटुल्यो ।

सोही गीतको माध्यमबाट पुष्पले चलचित्र ‘दर्पण छायाँ-२’ मा मुख्य अभिनेताका रूपमा काम गर्ने अवसर पाए ।  चलचित्र निर्देशक तुलसी घिमिरेले सो गीतको भिडियो हेरे । ‘दर्पण छायाँ-२’ बनाउने तयारी गरिरहेका निर्देशक तुलसीले गायक शिव परियारलाई भनेछन्, ‘तपाईंको गीतको मोडललाई चलचित्रमा खेलाउनुपर्‍यो ।’

त्यसअघि पनि पुष्पका म्युजिक भिडियो हेरेर धेरै निर्माता-निर्देशकले भेट्न बोलाएका थिए । उनलाई तुलसीले आफ्नो चलचित्रमा खेलाउने कुरामा विश्वास लागेन । र पनि पुष्प तुलसीलाई भेट्न गए । तुलसीले आश्वासन दिएनन्, उनलाई चलचित्रको मुख्य भूमिकामा लिए । पुष्पले ‘दर्पण छायाँ-२’ मा मुख्य हिरोको भूमिकामा अभिनय गरे ।

कैयौं हिट चलचित्र दिएका निर्देशकसँग काम गर्न पाउँदा पुष्पको अपेक्षा बढी हुनु स्वाभाविक थियो । तर, उनले जे सोचेका थिए, ठीक उल्टो भैदियो । चलचित्रले गतिलो व्यापार गर्न सकेन । न त पुष्पको अभिनयको तारिफ नै भयो ।

पुष्पले अहिलेसम्म एक हजार हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । दर्जनौं चलचित्रमा । भन्छन्, ‘देखेको सपनामा बाँच्न पाउँदा को खुशी हुँदैन होला र ?’  ‘दर्पण छायाँ-२’ प्रदर्शन नहुँदै पुष्पले छविराज ओझाको चलचित्र ‘मंगलम’को साइन सकिसकेका थिए ।

‘मंगलम’लाई लिएर पुष्पको अपेक्षा अझ बढी थियो । ‘चलेको ब्यानर, राम्रो निर्देशक, राम्रो कथा । त्यसमाथि मेरो राम्रो भूमिका । मानौं, चलचित्र चलेन भने पनि मेरो कामको तारिफ हुन्छ भन्नेमा ढुक्क थिएँ’, पुष्पले त्यसबेलाको आफ्नो अपेक्षा सुनाए ।

उनले सोचेकै भयो । चलचित्रले राम्रो व्यापार गर्‍यो । उनको कामको तारिफ भयो । यही चलचित्रबाट पुष्पले उत्कृष्ट नायकको राष्ट्रिय अवार्ड समेत पाए । यो चलचित्रले नै उनलाई अभिनयको प्रस्ताव आउने वातावरण बनाइदियो । त्यसयता उनका ‘दात भात तरकारी’, ‘मारुनी’ प्रदर्शनमा आए ।

लकडाउनपछि पुष्प ‘तिम्रो मेरो साथ’, ‘कृष्णलीला’ को छायांकन सकेर बसेका छन् । यी दुवै चलचित्र पोष्ट प्रोडक्सनको क्रममा छन् । ‘कृष्णलीला’ चैत २७ गतेदेखि प्रदर्शनमा आउँदैछ । पुष्प मुकुन्द भट्टको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनयको तयारीमा छन् । पुष्पले अहिलेसम्म एक हजार हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । दर्जनौं चलचित्रमा । भन्छन्, ‘देखेको सपनामा बाँच्न पाउँदा को खुशी हुँदैन होला र ?’

०००

कलाकारितालाई अब्बल बनाउन कलाकारले कथा होइन कथा अनुसार पात्र खोजिनुपर्ने सुझाउँछन् । उनी आफूलाई फरकफरक कथा र पात्रको भूमिका मन पर्ने बताउँछन् । त्यो खालका चलचित्रहरू नेपालमा कम बन्ने गरेको पुष्पको बुझाइ छ ।

उनी चलचित्र फरकफरक ‘भेरिएसन’ का बन्नुपर्ने मत राख्छन् । ‘कमेडी, लभस्टोरी शैलीका चलचित्र बनिरहेका छन् । एक्सन चलचित्र कम हुँदैगए’, उनलेे भने, ‘त्योभन्दा बाहिर पनि छ नि चलचित्रको कथा । नेपालमा अहिलेसम्म बायोपिक चलचित्र त्यसरी बन्न सकिरहेका छैनन् । ऐतिहासिक चलचित्र बनिरहेका छैनन् ।’

उनी ‘स्टारडम’ को सफलता सधैं एकै गतिमा रहिनरहने बताउँछन् । भन्छन्, ‘मैले महसूस गरेको नेपाली चलचित्र क्षेत्रमा स्टारडम भएको कलाकार भनेको राजेश दाइ (राजेश हमाल) हो । उहाँको चलचित्रमा छुट्टै क्रेज थियो । अहिले पनि छ । स्टारडममा व्यक्तिगत कुराले पनि अर्थ राख्छ । राजेश दाइमा त्यो ‘म्याच’ भए जस्तो लाग्छ ।

आफ्नोभन्दा कामको चर्चा रुचाउने उनी भन्छन्, ‘म बाहिरी चर्चा भन्दा कामको चर्चा होस् भन्ने चाहन्छु । राम्रो कामले पाएको चर्चा नै सफलता हो ।’