बर्षाैदेखि चर्चामा रहेका आयोजनालाई निरन्तरता
2021/06/01, 10:07
 
dd

अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सुदूरपश्चिम प्रदेशका पूराना आयोजनाले नै निरन्तरता पाएका छन् । प्रदेशमा रहेका राष्ट्रिय गौरवका र बर्षाैदेखि बजेटमा समावेश हुँदै आएका आयोजनाहरू आगामी बर्षको बजेटमा पनि अटाएका हुन् ।

कैलालीमा निर्माणधिन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तरगत पहिलो चरणको ९ किलोमिटर मूल नहर निर्माण कार्य आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य बजेटमा अटाएको छ । यसले थप ३ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा पु¥याइने छ ।

आगामी ३ वर्षभित्र यस आयोजनाको सम्पूर्ण कार्य सम्पन्न गरी २० हजार तीन सय हेक्टर भूमिमा सिँचाइ सुविधा पु¥याइने बजेटमा उल्लेख छ। आयोजना अन्तरगतको विद्युत गृहबाट ४.७ मेगावाट विद्युत उत्पादन गरिनेछ । यस आयोजनाको लागि दुई अर्ब ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए । 

महाकाली आयोजनाको तेस्रो चरण अन्तर्गत १० किलोमिटर मूल नहर निर्माण र ब्रह्मदेव क्षेत्रमा शाखा नहर निर्माण गरी २ हजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन १ अर्ब २५ करोड विनियोजन गरिएको छ । पश्चिम सेती–कैलाली नदी पथान्तरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न, जनताको तटबन्ध अन्तरगत कैलालीको भादा मोहनालगायतका नदी नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरिएको छ । 

कैलालीको लम्की र कञ्चनपुरको दैजीमा आगामी दुई वर्षभित्रै औद्योगिक क्षेत्र निर्माण सम्पन्न गर्ने दाबी बजेट भाषणमा गरिएको छ । कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न बजेट परेको छ । बैतडीमा फोस्फाराइट सम्भाव्यता अध्ययन गरी उ्रत्खनन प्रारम्भ गर्न, कञ्चनपुरको दोदोधारा चाँदनी सुक्खा बदरगाहको पूर्वतयारी सम्पन्न गरी निर्माण प्रारम्भ गर्न, बैतडीको त्रिपुरासुन्दरी, बाजुराको बडिमालिकालाई धार्मिक पर्यटकीय स्थलको संरक्षण र विकासको लागि गुरुयोजना तयार गर्न पनि बजेट विनियोजन भएको छ । 

खेलकुदतर्फ कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न र कैलालीको धनगढीमा प्रादेशिक रंगशाला निर्माण गर्न बजेट विनियोजन भएको छ । सेती लोकमार्गको टीकापुर–साँफे खण्डलको निर्माण कार्य अघि बढाउन, महाकाली कोरिडोरको ब्रह्मदेवमण्डी–झुलाघाट–दार्चुला खलंगा–टिंकर सडकको निर्माण गर्न र दोधारा–चाँदनी हुँदै भारतीय सीमा नाका जोड्ने महाकाली नदीमा ४ लेनको पुल निर्माण सम्पन्न गर्न पनि बजेट विनियोजन भएको छ । 

विपिनगर–खुटिया–दिपायल खण्डमा सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने योजना पनि बजेटमा परेको छ । उक्त योजना विगत तीन बर्षदेखि बजेटमा अटाउँदै आएको छ । तर अहिलेसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययनसमेत भएको छैन । 

धनगढी–अत्तरियामा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको विद्युतीय बस सेवा सञ्चालन गर्ने योजना पनि बजेटमा अटाएको छ । धनगढी अत्तरियालाई मेगासिटी बनाउने योजना पनि बजेटमा परेको छ । यो भन्दा पहिले पनि सरकारले मेगासिटी बनाउने घोषणा गरेको थियो । तर निर्माण प्रक्रिया अगाडि बढेको छैन । स्वास्थ्यतर्फ कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गर्न बजेट विनियोजन गरिएको छ भने गेटा मेडिकल कलेज आगामी बर्षदेखि सञ्चालनमा आउने उल्लेख गरिएको छ ।