मोटरसाईकलको ठक्करबाट महिलाको ज्यान गयो, दुर्घटनाग्रस्त अवस्थामा फेला परेको ट्रकका चालकको मृत्यु
2020/06/07, 4:39
 
death

कैलालीमा मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका वडा नम्बर २ को महेद्रनगर रोडमा अत्तरियातर्फ आउदै गरेको मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाईकलको ठक्करबाट गोदावरी नगरपालिका १० खमौराकी ६० वर्षीया हिरा मालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले बताए । उनलाई कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय गोविन्द जोशीले चलाएको सु.प.प्र.००२–००३ प.२३२३ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । मालीको धनगढीमा उपचार सम्भव नभएपछि  नेपालगञ्ज पठाईएकोमा उतै मृत्यु भएको प्रहरी निरिक्षक थापाले बताए । चालक र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

उता डडेल्धुरा अन्तरगत के आई सिह राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । अमरगढी नगरपालिका वडा नम्बर १० राईमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ट्रकमा ४२ वर्षीय चालक जयदेव बिष्टको शव फेला परेको छ । शनिबार राति ११ बजे ट्राफिक प्रहरी पोष्ट स्याउलेमा ईन्ट्री गरि धनगढीबाट बाजुराका लागि सिमेन्ट लैजादै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ट्रक सडकबाट करिव १०० मिटर तल पल्टिएको प्रहरीले जानकारी दिएको छ । चालक पाटन नगरपालिका ८ खोडेपेका रहेका छन् । चालक आफै गाडी मालिक रहेको र उनले चन्द्रौटाबाट बाजुराको लागि सिमेन्ट लैजाने क्रममा दुर्घटना भएको हो । आईतबार बिहान स्थानीयहरुले ट्रक पल्टिएको अवस्थामा देखेपछि मात्रै प्रहरीलाई जानकारी गराएका थिए ।