सरकार र थरुहट संघर्ष समितिबीच मंगलबार भएको ६ बुँदे सहमतिको पहिलो बुँदामा टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायत ११ जनाविरुद्ध लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख छ । कैलाली जिल्ला अदालत र पुनरावेदन अदालत दिपायलले दोषी ठहर गरेका व्यक्तिलाई राजनीतिक मुद्दाका नाममा रिहाइ गर्नु अपराधीलाई उन्मुक्ति दिनुबाहेक अरू केही नभएको पीडितहरू बताउँछन् ।
‘मान्छे मार्नेलाई छाड्ने कुरा ठीक होइन, चाहे त्यो राजनीतिक होस् वा अन्य कुनै,’ टीकापुर घटनामा मारिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराका बुबा प्रेमसिंहले भने, ‘राजनीतिका नाममा जे पनि गर्न पाइन्छ ?, अदालतले समेत दोषी ठहर गरिएकालाई रिहाइ गर्नु पीडितको भावनामाथि खेलवाड गर्नु हो ।’ उनले सत्ताको खेलमा दोषी छाड्न पहल गर्ने सहमति भएको बताए । ‘अहिले रेशम चौधरीको रिहाइको माग भयो, भोलि थरुहट प्रदेशको पनि माग आउँछ,’ बोहराले भने, ‘त्यतिबेला अखण्ड सुदूरपश्चिमको माग गर्नेहरू के गर्छन् ?’
सत्ता टिकाउन जुनसुकै सहमति र निर्णय गर्नु उचित नहुने उनले बताए । पछिल्लो समय थरुहटसँगको सहमति पनि सत्ताकै खेल भएको उनको बुझाइ छ । ‘पटक–पटक यही कुरा कहिलेसम्म भनिराख्नुपर्ने हो ?’ मृतक बोहराकी श्रीमती शारदाले भनिन्, ‘हामीले केही मागेका छैनौं, केवल न्याय मागेका हौं, त्यसमा पनि यत्रो खेल भइरहेको छ ।’
उनले टीकापुर घटनाका दोषीलाई रिहाइ गर्ने कुरा उठ्दा पीडितको भावनामाथि खेलवाड भएजस्तो लाग्ने बताइन् । ‘यदि दोषीको रिहाइ हुने हो भने हामीले कानुनी उपचार खोज्न कहाँ जाने,’ शारदाले भनिन्, ‘सरकारबाटै हामीमाथि अन्याय हुन्छ भने कसलाई गुहार्ने, अब त अदालतमाथिको विश्वास पनि कम हुन थालेको छ ।’ कानुन नै फेरेर दोषी छुटाउनु उचित नहुने उनले बताइन् । यसले पीडित र प्रहरीको मनोबल झनै गिर्ने उनको ठहर छ ।
दोषीलाई रिहाइ गरिए पुनःअदालत जाने शारदाले बताइन् । उनले न्यायका लागि अन्तिमसम्म लड्ने बताइन् । ‘त्यो घटनाले कस्तो पीडा भएको छ, त्यो त हामीले भोगेका छौं,’ उनले भनिन्, ‘माफी दिने कुरामा वा संविधान नै संशोधन गरेर दोषीहरूलाई रिहाइ गर्ने छलफल गर्दा हाम्रोबारेमा सोच्नु पर्दैन ? के हामी यो देशका नागरिक होइनौं ?’
टीकापुर घटनामै मारिएका प्रहरी निरीक्षक बलराम विष्टका आफन्तले पनि दोषी छाड्ने विषयमा आपत्ति जनाएका छन् । उनीहरूले पीडितको घाउमा महम लगाउनुको साटो झनै पीडा दिने काम गर्न नहुने बताएका छन् । ‘हामी जस्ता पीडितले न्याय पाउने आसै छैन, बरु झन् अन्याय सहनुपर्ने अवस्था देखिँदै छ,’ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बस्ने विष्टकी श्रीमती मन्धरादेवीले भनिन्, ‘बुढेसकालमा सहारा गुम्यो, अहिले मार्नेलाई छाड्ने कुरा सुन्छु ।’
उनी घरमा एक्लै हुन्छिन् । रेडियो, टेलिभिजन सुन्ने र हेर्ने फुर्सद हुँदैन । छिमेकीहरू वा आफन्तले भनेपछि मात्रै केही थाहा पाउँछिन् । ‘मेरा बालबच्चा सानैमा टुहुरा भए, बुबा भन्न पनि पाएनन्,’ विष्टले भनिन्, ‘तिनलाई कस्तो लाग्दो होला, यो कुरा कसैले सोचेनन् ।’ २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र १ स्थानीय शिशु आन्दोलनकारीबाट मारिएका थिए । यो खबर कान्तिपुरले लेखेको छ ।