प्रयोगशालाको कमी तथा आवश्यक जनशक्ति अभावका कारण सुदूरपश्चि प्रदेशमा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ। पिसीआर विधिबाट धनगढीमा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको भए पनि स्वाब सङ्कलन धेरै भएकाले पाँच दिनका लागि नमूना सङ्कलन स्थगन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले तीन दिनपछि स्वाब सङ्कलन पुनः शुरु गरिने जानकारी दिए ।
“हामीसित अझै एक १६० स्वाब परीक्षण गर्न बाँकी छ।” निर्देशक डा अवस्थीले भने, “स्वाब स्टोर गर्ने क्षमता कम भएकाले केही समय नमूना सङ्कलन स्थगन गरेका हौँ ।” उनले सुर्खेत र काठमाडौँ प्रयोगशालामा स्वाब पठाएर परीक्षण गर्न पहल गरे पनि सबैतिर चाप रहेकाले नसकिएको बताए । “सबैतिर ल्याबहरुमा परीक्षणका लागि चाप छ”, उनले भने, “यहाँ हामी दैनिक २५० भन्दा बढी परीक्षण गर्न सक्दैनौँ ।” प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र बैतडीमा पिसीआर विधिबाट कोरोना परीक्षणका लागि प्रयोगशालाको स्थापनाको प्रक्रिया अघि बढे पनि सुस्त गतिमा छ । “सेतीमा प्रयोगशाला स्थापना भए हामी सित जनशक्ति खटाउन सकिने अवस्था भए पनि पहाडका दुई प्रयोगशालाका लागि जनशक्ति एक जना पनि छैन ।” अवस्थीले भने, “आगामी असार १५ गतेभित्र पिसीआर मेसिन यहाँ आइपुग्छ ।”
धनगढीमा केन्द्रबाट पठाएको प्रयोगशाला सञ्चालनमा आउनुअघि यहाँ सङ्कलन गरिएका स्वाब सुर्खेत र काठमाडौँ प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको थियो । भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने क्रम बढेसँगै कोरोनाको सङ्क्रमण फैलिने सम्भावना बढिरहेको छ । शनिबार साझँसम्म सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका क्वारेन्टिनमा ६२ हजार ५२७ जना बसिरहेका छन । एक सय सात कोरोना सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेशका आइसोलेसन वार्डहरु सङ्क्रमित बिरामीले भरिएका छन् ।
आइसोलेसन वार्ड बढी रहेका कैलाली र कञ्चनपुरमा पनि सङ्क्रमितको चाप बढेपछि स्थानीय प्रशासनले आइसोलेसन वार्ड थप्ने गृहकार्य गरिरहेका छन । यहाँका एक हजार ६०० भन्दा बढी स्थानमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको भएपनि व्यवस्थापन नहुँदा समस्या भइरहेको छ । कञ्चनपुरको भीमदत्तनगर स्थित महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पतालमा १८ जना सङ्क्रमितको उपचार भइरहेको बताए । “यहाँ क्षमता हुँदासम्म बिरामी राखिने कुरा भएको छ”, उनले भने, “भरिए पनि यहाँको सेफर अस्पताल र सीएमए महिला छात्रावासलाई पनि आइसोलेसन वार्ड बनाउने तयारी छ ।” त्यसैगरी अस्पतालमा निर्माण भइरहेको ५० श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको जोशीको भनाइ छ ।
सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भएको छ भने छ जनाको क्वारेन्टिनमा मृत्यु भएको छ । जसमध्ये तीन जनाको कोरोना नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सात हजार ४९ पिसीआर विधि र ३२ हजार ७५६ आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ती सिद्धराज भट्टले पिसीआर स्वाब सङ्कलन स्थगन भए पनि स्थानीय पालिकाले सम्बन्धित तहमा आरडिटी विधिबाट परीक्षण गरिरहेको बताए ।
“हामीबाट आरडिटीका लागि किट लगेर पालिकासित भएको जनशक्तिले नै परीक्षण गरिरहेको छ”, भट्टले भने, “त्यसको तथ्याङ्क हामीकहाँ पनि पठाउने गरेका छन ।” धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा पनि जनशक्ति कमी रहेको छ । “प्रयोगशालाको पूरै टिम दैनिक १२ देखि १३ घण्टा खटिरहेको छ ।” प्रयोगशाला स्रोतले भन्यो, “कर्मचारी अभावले पनि परीक्षणमा केही ढिलाइ हुन गइरहेको छ ।”