सुदुरपश्चिममा सफल हुन नसकेको सिआईबी
2020/06/08, 7:53
 
cib

सीताराम ओझा- कैलालीको मसुरीयामा एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद भुषालको मृत्युको घटना वारे छानविन गर्नका लागि केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीको टोली कैलालीमा छ । गत आईतबार पुगेको टोली विहानी क्षितिज र्बोडिंग स्कुलका प्रिन्सिपल भुषालको मृत्युको घटना हत्या हो वा के हो भन्ने विषयमा छानविन गरिहेको छ । दुई जना सिआईवीको टोली घटनाको अनुसन्धानमा लागिरहेको छ ।

स्थानीयहरुले हत्याको छानविनको माग गर्दै स्थानीय वासिन्दाहरु दैनिक रुपमा आन्दोलन गर्दै आएकोमा सिआईवीको टोली आएपछि शान्त भएका छन् । भुषाल मृत्यु घटनाको कुरा संसदमा पनि उठेको छ । तर सुदुरपश्चिममा सिआईवीले अनुसन्धान गरेका घटनाहरुमा प्रहरी सफल हुन नसकेको विगत छ । यसअघि सुदुरपश्चिममा भएका ठुला तथा अपराधिक घटनाहरुको अनुसन्धानका लागि सिआईबीका टोलीहरु आए पनि ती घटनाहरुको वास्तविकता खुल्न सकेको छैन । निजि विद्यालयका संञ्चालक कृष्ण भुषालको घटना अनुसन्धानमा सिआईबीले केही पत्ता लगाउन की लगाउदैन त्यसका लागि केही समय पर्खिनुपर्ने अवस्थामा सुदुरपश्चिममा सिआईबीको टोलीले आशातित सफलता हासिल गर्न नसक्दा अधिकांश घटनाहरुको वास्तविकता र यथार्थता गर्भमै रहेका छन् । 

कसले लुट्यो नबिलको २ करोड ३० लाख ?
घटना २०७० साल मंसिर २६ गते हो । कैलालीको अत्तरिया स्थित चौकीडाँडा जंगलमा नबिल बैंकको दुई करोड ३० लाख ६० हजार रुपैयाँ र दुई सय अमेरिकी डलर लुटियो । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको नबिल बैंक शाखाबाट झिकेर नेपाल राष्ट्र बैंकको धनगढी शाखामा जम्मा गर्न लाँदा सो रकम लुटिएको थियो । ट्राफिक प्रहरीको भेषमा हतियार लिएर आएका लुटेराले बैंकका कर्मचारी चढेको मे १ च १४६ नम्बरको गाडी रोकेर पैसा लुटेका थिए । पैसा लुटिएपछि प्रहरीले गाडी चालक वीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ, अडिटर शुक्रराज भट्टराई र गार्ड गंगादत्त भट्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । सुरुवाती अनुसन्धान गरेको कैलाली प्रहरी यस घटनाको छेउछाउसम्म पनि पुग्न सकेन । त्यसपछि देशभरका ठूला अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गर्यो । साढे ६ वर्षसम्म यो घटना रहस्यमै रहनुमा प्रारम्भिक प्रमाण संकलन गर्न चुक्नुलाई नै सिआइबीले प्रमुख कारण रहेको निष्कर्ष निकाल्यो । तर घटनाको वास्तविकता ल्याउन असफल भयो ।

बैंक लुटिएको बेला क्षेत्रीय प्रहरी प्रमुखमा नारायणप्रसाद बास्ताकोटी थिए । त्यसपछि जयबहादुर चन्द, रामकुमार खनाल, माधव नेपाल, विजयकुमार भट्ट हुँदै रोमेन्द्रसिंह देउजा सुरज केसी लगायतका अधिकारीले नेतृत्व सम्हाले । अहिले सदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्व डिआइजी उत्तमरा सुवेदीले सम्हालेका छन् । घटनाको नजिकसम्म पनि प्रहरी पुग्न सकेको छैन । तर, यस घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान अघि बढाइरहेको हरेक पटक आउने अधिकारीहरुले बताउन भने छोडेका छैनन् । 
तत्कालीन क्षेत्रीय प्रहरी प्रमुख विजयराज भट्टले सुदूरपश्चिम सरुवा भएर आएलगत्तै प्रहरी अनुसन्धान सफलता नजिक पुगेको ठोकुवा गरेका थिए । पूर्वआइजिपी उपेन्द्रकान्त अर्याल समेत कैलाली पुगेर अनुसन्धान सफल हुनै लागेको भन्दै केही समयमै सत्यतथ्य बाहिर आउने दाबी गर्न पछि परेनन् । तर, अर्यालपछि पनि तीन जना आइजिपी फेरिए, तर घटनामा लागेको पर्दा उठ्न सकेको छैन । घटना सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले समेत छानविन गरेपनि कुनै परिणाम दिन सकेको सकेन । सोही घटनामा पोलिग्राफ (साँचो झुटा बोलेको जाँच गर्ने मेसिन) को प्रयोग गरिएप नि अनुसन्धान सफल हुन सकेको थिएन । घटना भएको यति लामो समय भैसक्दा समेत प्रहरीले नत पैसा बरामद गर्न सकेको छ, न त लुटेरा नै पत्ता लाउन सकेको छ ।

किन हत्या गरिए ओम प्रकाश ?
नबिल बैंक लुटपाट प्रकरण जस्तै सिआईबी सफल नभएको अर्को घटना ओमप्रकाश पन्त हत्या प्रकरण हो । मंसीर २५ गते, २०६९ सालमा धनगढी उपमहानगरपालिका–४, उत्तर बेहडीका ओमप्रकाश पन्तको हत्या भयो । हत्या भएको साढे ७ वर्ष पुरा भए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । धनगढी उपमहानगरपालिका–५, तारानगरमा राती ९ वजे उनको घाटी रेटेर विभत्स हत्या गरिएको थियो । तर, हालसम्म पनि हत्यारालाई पक्राउ गर्न सकेको छैन । दोषी पक्राउ नपर्दा पन्तका आफन्तहरु ज्यान जोखिममा परेको भन्दै घरबास नै बेचेर अन्यत्र बसाई सरेका छन् ।

साढे ७ बर्ष अघि धनगढी ४ उत्तरबेहडीका पन्तको तारानगरमा बिभत्स हत्या भएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । यस प्रकरणमा पनि जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीसँगै सिआईवीदेखि उच्च स्तरीय छानविन टोली समेत गठन भए । यो घटना भएपछि कैलालीमा प्रहरी उपरिक्षकका रुपमा ८ जना प्रहरी अधिकारीहरुले काम गरिसकेका छन् । तर पनि अनुसन्धानमा कुनै सफलता प्राप्त हुन सकेको छैन् । यो घटनामा पनि अनुसन्धानमै उत्कृष्ट कहलिने सिआईबी फेल भएको छ । 

निर्मला पन्तको हत्या किन पत्ता लागेन ?
झण्डै दुई बर्ष अघि अर्थात २०७५ साउन १० गते कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घटनापछि दोषीलाई कारबाही हुनुपर्ने भन्दै व्यापक आन्दोलन चर्कियो । आन्दोलनलाई नियन्त्रणमा लिन भनेर सुरक्षाकर्मीबाट चलाइएको गोली लागेर निर्दोष व्यक्तिले ज्यान समेत गुमाउनु पर्यो । घटनालाई थामथुम पार्न प्रहरीले अनेक निर्दोष व्यक्तीलाई अभियुक्त बनायो, यातना दियो । घटनाको अनुसन्धानका लागि आधा दर्जन छानविन समिति बने । छानविन समितिले शंकास्पद भन्दै ५ सय २९ जनासँग बयान लियो । यति मात्र होइन ७३ जनाको त ‘डीएनए’ परीक्षण नै गर्यो । सिआईबीका टोलीहरु पटक पटक आए । घटनाका वारेमा विभिन्न कोणहरुबाट अनुसन्धान गरे तर घटनाको दुई बर्ष बितिसक्दा पनि दोषी पक्राउ पर्न सकेको छैन । जसका कारण प्रहरीको अनुसन्धानमाथि नै दर्जनौं प्रश्नहरु उब्जिएका छन् । अहिले निर्मला घटनाको अनुसन्धान जारी छ । 

प्रहरीको अनुसन्धानमै लापरबाही भएको पाइएपछि, अनुसन्धानमा खटिएका प्रहरीको भूमिकामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । समितिले अनुसन्धान सकेर प्रतिवेदन समेत बुझाइसकेको छ । तर, त्यो प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार, उक्त प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा गरेको लापरबाहीको विषय मात्र नभई, घटना कसले घटायो भन्ने विषय पनि इंगित गरिएको छ । तर प्रतिवेदन गोप्यमै रहेको छ । 

चौलागाई खोई ? 
लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई वेपत्ता भएको वर्षौंसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । तत्कालीन लोक सेवा आयोग सुदूरपश्चिमान्चल क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको बर्षौ भईसक्यो । आयोगको दैनिक काम सकेर घर फर्कने क्रममा उनी बेपत्ता भएपछि नेपाल प्रहरीले मात्रै अनुसन्धान गर्न नसकपछि सिआईबीको टोली नै आयो । तर हात लाग्यो शुन्य जस्तै भएको छ सिआईबीलाई यो घटनामा पनि । वेपत्ता चौलागाईको खोजी गर्न परिवार, लोकसेवा आयोग र प्रहरीले छुट्टा छुट्टै टोली बनाए पनि वास्तविकता अहिलेसम्म पनि वाहिर आउन सकेको छैन । 

ठूला घटनामा सिआईबी र प्रहरी असफल !
प्रहरीको अनुसन्धानले फेल खाएपछि बोलाईएका सिआईबीका टीमहरुले असफलता हात पारेका यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो केही वर्षयता प्रहरी र सिआईवीले थुप्रै जघन्य आपराधिक घटनामा हात धुनु परेको छ । ती घटना हालसम्म रहस्यमयी छन् । प्रहरी र सिआईबीको अनुसन्धान अनुसन्धानमै सीमित छ । सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, डोटी, बैतडी, बझाङ र अछाममा ८ वर्षयता भएका ठूला ठूला अपराधका थुप्रै घटनामा प्रहरीले अनुसन्धान गर्न सकेको छैन । अनुसन्धान सुरु नहुँदै आउने दबाव र प्रहरी भित्रबाटै हुने लेनदेनका कारण कतिपय घटनाका फाइल बन्द हुने गरेका छन् । आफुले नसकेर सिआईबी बोलाउँदा आउने घटनाहरुको पुनारावृति पनि त्यस्तै छ ।

केही वर्षअघि अत्तरियाखस्थित खानेपानी ट्यांकी नजिक बझाङबाट आएका शिक्षक धर्म जोशीको हत्या, अत्तरिया गोदावरी पुल नजिक अज्ञात महिलाको बलात्कारपछि भएको विभत्स हत्या लगायतका कुनै पनि घटनामा प्रहरीले अपराधीलाई कानूनको दायरामा ल्याउन सकेको छैन । तर, ठूला अपराधिक घटनाको छानविन थाल्ने आश्वासन दिएका प्रहरी अधिकारीले घटनामा चासो नदिदा पीडित पक्षले समेत न्याय पाइने आशा मारिसकेका छन । सुदूरपश्चिममा भएका थुप्रै ठूला आपराधिक घटनामा अनुसन्धानमा सिआईबी खटाईए पनि प्रहरी सफल हुन सकेको छैन् । घटनाहरुको अनुसन्धान भएर निष्कर्ष नआउँदा पीडितले न्याय पाउन सकेका छैनन् ।