नुनपानी नुनिलो भए जस्तै सुनपानी ?
2020/06/08, 8:10
 
madan

आमाको महिनावारीको बेला बच्चा आमा बिना सुत्न मान्दैन र सुत्छ छाउगोठमा आमासंगै । जब बिहान हुन्छ तब ननुहाएसम्म गौंत, सुनपानी नपिएसम्म उस्लाई घरभित्र पस्न अथवा अन्य ठाउँमा छुन, जान निषेध गरिन्छ । अवोधले कारण सोध्छ । उत्तर पनि मज्जाले पाउँछ ।

छुवाछुतको कारण । र उस्को मानस पटलमा छुवाछुतको गहिरो छाप पर्न जान्छ । किनकी उ हरेक महिनाको चार दिनको छाउगोठको सुताईले छुवाछुतसँग अभ्यस्त भइसक्छ र उस्को मानसपटल छोईन्छ छुवाछुतले । अनि मेरो समाजमा छुवाछुत अन्त्य गर्न छाउगोठ भत्काइन्छ । कहांबाट हुन्छ छुवाछुतको अन्त्य ।

यतिमात्र होइन जब मास्टर काका आँगनको पल्लो छेउमा बसेर “जदौ नाना गोसाइँ, तमरो ड्रेस लैजा ... कुट्टे बब्लु निको ड्रेस सिलिबर ल्याइ दियाछु“ भन्छन् । तब अवोध मनुवा दगुरेर “माट्टल बादेले मेलो लत्तो सिल्दिए“ भन्दै मास्टरको हातबाट कपडा छिनेर घरभित्र पस्नै लाग्दा भित्रबाट हजुर आमा कमाउँछिन्, “पख ... पख ... पख, त्यो छुइएको हो । सुनपानी हालेर मात्र भित्र लैजानुपर्छ ।“ 

त्यहीबाट सुरु हुन्छ छुवाछुतको अध्याय र त्यो अवोधले जीवनको यात्रामा सबैभन्दा पहिले छुवाछुतमा बिद्या वारिधी गर्छ । जसमा म पनि पर्छु । पहिलेदेखि छुवाछुतको कारण घटना घटिरहेकै छन र छुवाछुत अन्त्य गर्नुपर्छ भनेर ढ्याङ्ग्रो पिटिएकै छन् । तर जसले पिटिराछ उसैलै ढ्याङ्ग्रोको आवाज मेटिराछ । कसैले किन सिकाइदिएन ! आमाको महिनावारीकै कारण अवोध जन्मिएको हो भनेर । आमाको महिनावारी छुवाछुत नभएर आमाको लागि जैविक उपहार हो भनेर ।

कसैले किन सिकाई दिएन, मास्टर बाजेले आफ्नो इलम र ईमान्दारिताले ड्रेस सिलि दिएका हुन भरेर । कसैले किन देखाई दिएन, मास्टर बाजेको गोसाइँ नाति प्रतिको प्रेम । बरु सिकाई दिएको भए हुन्थ्यो, मानव धर्मको बारेमा । प्रेमको बारेमा । सत्कर्मको बारेमा । बरु सिकाई दिएको भए हुन्थ्यो, सुनपानीले मान्छे सुन्दर हुदैन वरु व्यवहारले हुन्छ भनेर । 

कसैले किन पढाई दिएन भाइचाराको अध्याय । बरु पढाइदिएको भए हुन्थ्यो मानवताको एक पाठ । जसरी पानीमा नुन हाल्दा नुनपानी बन्छ, सायद त्यसरी सुन हाल्दा सुनपानी बन्यो होला तर नुनले आफ्नो गुण कहिल्यै किन बिर्सेन ? सुनले स्वाद किन गुमायो ? नुनपानी नुनिलो किन भयो ? सुनपानी सुनिलो किन भएन ? सुनौलो भइदिए पनि हुने, किन भएन ? त्यो अवोध मनुवाको मनमा प्रश्न धेरै तर निरुत्तर ?

मदन भण्डारी
धनगढी, कैलाली