बयलपाटा अस्पतालबाट निकालिएका कर्मचारीले आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाए
2020/06/08, 12:29
 
aago

अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडी सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिद्धार्थ आउजी आफ्नै शरीरमा आगो लगाएका हुन् ।

उनको हेलिकप्टर मार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनको एक छोरा र एक छोरी रहेका छन् । केही हप्ता अगाडी अस्पतालले हटाएका ३३ जना कर्मचारीमा उनी चर्पी सफा गर्ने कामको जिम्मेवारीमा काम गर्ने गरेका थिए ।

b

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडी नै अस्पतालले हटाएको चिठी दिएपछि सिद्धार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए ।

‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ सरसफाईको काम गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं’ उनले भने । ‘तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’ महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनको भनाइ छ ।

अस्पतालले भने आर्थिक अभाव भएको भन्दै कार्य सम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।