वर्षा भइरहेकाले देशका विभिन्न नदीमा बाढी आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले बिहीबार बुलेटिन निकालेर विभिन्न नदीमा बाढी आउन सक्ने जनाएको हो । जसअनुसार सुदुरपश्चिममा कर्णाली र महाकाली नदीमा पानीको सहत बढ्ने छ ।
यी नदीका तल्लो तटीय क्षेत्रका मानिसहरुलाई सतर्कता अपनाउन भनिएको छ । कर्णाली र महाकाली जलाधारका केहि स–साना सहायक नदीमा समेत बाढी आउन सक्ने महाशाखाले जनाएको छ । जसकारण कैलाली कञ्चनपुर लगायतका जिल्लामा जोखिम छ । यस्तै महाकाली नदीले गर्दा कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा असर पर्ने सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।
यसैगरी सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर डडेल्धुरा डोटी अछाम बझाङ दार्चुला र बाजुराका स साना नदीहरुमा पनि बाढी आउन सक्ने पुर्वानुमान गरिएको छ । विभागले तटीय र तल्लो तटीय क्षेत्रका वासिन्दालाई सर्तक हुन आग्रह गरेको छ ।
यता लगातारको बर्षाले सुदुरपश्चिमका विभिन्न सडकहरु अवरुद्ध भएका छन । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको जयपृथ्वी राजमार्गको सुबेणा–कचाली खोला र तमेल भीर, दार्चुलाको भित्रि सडक र बाजुराको साँफे–मार्तडी सडक पहिरोले अवरुद्ध भएका छन् । बिहिवार बिहानसम्म वर्षाका कारण पहिरो हटाउन सकिएको छैन ।
डोजरले पहिरो हटाउन सुरु गरेपछि पुनः वर्षा भएकाले हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।
दार्चुलाको धौलाकोट क्षेत्रको भित्र सडक पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तर दार्चुला–धनगढी मुख्य सडकमा भने पहिरो छैन । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको हो ।