बर्षाका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध 
2021/06/18, 2:02
 
dd

निरन्तरको झरीका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षाका कारण खार–खलङ्गा सडक, खलङ्गा–तिङ्कर सडक र विटुले–पारिबगड सडक अवरुद्ध भएका हुन् । प्रदेश गौरव योजनाअन्तर्गत ग्राभेल भइरहेको खार–खलङ्गा सडकको तीन ठाउँमा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै खलङ्गा–खार क्षेत्रमा सञ्चालन हुँदै आएका यातायातका साधन प्रभावित भएका छन् । यो सडक खण्डको मालभेला, झुस्कु मोड र सेला क्षेत्रमा सडक अवरुद्ध भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताए ।

सडक अवरुद्ध हुँदा नौगाडसम्म जाने स्थानीयवासीलाई समस्या भएको छ । नौगाडबाट खलङ्गा आउने तरकारी बिक्रेताले झनै सास्ती भोग्नुपरेको नौगाडका स्थानीयवासी धनसिंह सितोलीले बताए । ’सडक अवरुद्ध हुँदा पिठ्यूँमा तरकारी ढुवानी गर्न समस्या हुन्छ’, उनले भने, ’गाडी चल्यो भने सहज रुपमा तरकारी बजारसम्म पु–याउन सकिन्छ ।’ अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायलाई आग्रह गरिएको अध्यक्ष ठगुन्नाले बताए । “यो सडक खण्डमा ग्वालेक निर्माण सेवाले सडक ग्राभिल गर्दैछ”, अध्यक्ष ठगुन्नाले भने, ’निर्माण व्यवसायलाई सडक खुलाउन आग्रह गरिरहेका छौं ।’

यस्तै विटुले पारिबगर सडक खण्डको रिल पहिरो क्षेत्र अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै खलङ्गा–तिङ्कर सडक खण्डको राताकाठा क्षेत्रमा सडक अवरुद्ध भएको स्थानीयवासी अशोक ओझाले जानकारी दिए । राताकाठामा पूरै पहिरो आएको छ । चट्टान खसेपछि अहिले प्रहरीले पहिरो क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए । अझै वर्षा नरोकिएको कारण सावधानी अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।