मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले निरन्तरको अविरल वर्षाका कारण शनिवार कर्णाली लगायतका नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ । शनिवार सूचना जारी गर्दै महाशाखाले कर्णाली, महाकाली, जलाधारका केही ससाना सहायक नदीहरूमा बाढीको बहाव बढ्दो हुने जनाएको छ ।
महाशाखाले केही स साना नदीहरूमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने भन्दै सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई अपिल गरेको छ ।
मनसुन नेपाल प्रवेशसँगै लगातार भइरहेको वर्षाका कारण केही नदीमा पानीको सतह बढ्दै गएको छ । जसले गर्दा सुदुरपश्चिम प्रदेशका जिल्लामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदी तथा खोलामा आकस्मिक वहाव बढ्नसक्ने देखिएको छ । केही नदीमा भने बिहानैबाट पानीको वहाव बढेको छ ।
महाकाली र त्यसका आसपासका सहायक नदीमा पानीको वहाव सतर्कता तहसम्म पुगेको महाशाखाले जनाएको छ । कर्णाली र सहायक नदीमा पनि पानीको सतह बढ्दै गएको छ । महाशाखाका अनुसार कोशी, कर्णाली र महाकाली तथा सहायक नदीमा बाढीको उच्च जोखिम रहेको छ । आगामी २४ घण्टाको प्रक्षेपण गर्दै महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा २७ जिल्लामा उच्च जोखिम रहेको जनाएको छ । जसमा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, बाजुरा, बझाङ र दार्चुलामा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । दार्चुलाको दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राति १० बजे निकालेको सूचना अनुसार जलमापन केन्द्रमा ६.७ मिटर पुगेको छ भने सदरमुकाम खलंगाको पुलघाटमा ४.५ मिटर पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले महाकाली नदीमा बाढीले खतराको सतह पार गरेको भन्दै सतर्कता अपनाउन जिल्लाबासीमा आग्रह गरेका छ्न् । नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका महाकाली नदी किनार क्षेत्रका बासिन्दाले सचेतना अपनाउन भनिएको छ । प्रशासनले नदीछेउछाउ नजान स्थानीयलाई आग्रह गरेको छ ।