बैतडीमा विद्यार्थी भर्ना अभियान सुरु
2021/06/19, 1:39
 
aa

बैतडीका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा नियमित विद्यार्थी भर्ना अभियान सुरु भएको छ। कोरोनाका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएपछि आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गरेका सबै विद्यालयले अहिले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन्। 

१० वटै स्थानीय तहमा भर्ना अभियान थालिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। कुनै विद्यालयमा कक्षा ५ र कक्षा ८ उत्रिर्ण गरेका विद्यार्थीहरुलाइ माथिल्लो कक्षाका लागि विद्यालय परिर्वतन गर्नुेपर्ने भएकाले त्यस्ता विद्यार्थीहरुका अभिभावकहरुसँग फोनको माध्यमबाट छलफल गरेर भर्ना गर्न सुझाव दिइएको पनि उनले बताए। 

कोरोना कहर कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यार्थी भर्ना अभियान थालिएको विद्यालयहरुले जनाएका छन्। पाटन नगरपालिका वडा नम्बर ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले पनि भर्ना प्रक्रिया अगाडी बढाएको जनाएको छ। फरक दिन फरक टोलका विद्यार्थी तथा अभिभावक बोलाएर भर्ना कार्यक्रम भइरहेको प्रधानाध्यापक बहादुरसिँह महराले बताए। 

यस्तै सुर्नया २ स्थित बाशुदेव मावि लिष्किटाले पनि भर्ना अभियान सुुरु भएको जनाएको छ।  त्यहाँ सबै टोलहरुमा अभिभावकहरुलाइ पत्राचार गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आ–आफ्ना नानीबाबुलाई भर्ना गर्न अनुरोध गरिएको छ।

अहिले विद्यार्थी भर्ना अभियान शुरु गरिएको र कोरोना संक्रमण नियन्त्रणमा आए विद्यालय सञ्चालन गरेर पढाइ पनि सुुरु गरिने बताइएको छ।  बैतडीमा ५ सय ४० सामुदायिक र २२ ओटा संस्थागत विद्यालय रहेका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।