महाकाली नदीको सतह बढेपछि पानी बस्तीमा पस्यो, दर्जनौ घर डुबानमा (भिडियो सहित)
2021/06/19, 2:04
 
dd

निरन्तर वर्षापति महाकाली नदीमा पानीको सतह बढ्न थालेको छ । पहाडी जिल्लामा भारी वर्षासँगै नदीको सतह बढेकाले नदी तटिय क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । महाकाली नदीको शारदा ब्यारेजमा शुक्रबार राति एक लाख क्यूसेकको हाराहारीमा पानी पुगेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षिक (डीएसपी) अमरबहादुर थापाले पहाडी जिल्लामा भइरहेको वर्षाका कारण महाकालीमा पानीको सतह बढ्दै गइरहेको बताए । उनले शुक्रबार राति एक लाख क्युसेक मापन गरेको पानीको सहत बढेर अहिले एक लाख ७५ हजार क्युसेक पुगेको बताए । शुक्रबार राति एक लाख मापन गरिएको पानीको सतह बिहान ८ बजेतिर एक लाख ६५ हजार क्युसके पुगेको र दिउँसो मापन गर्दा एक लाख ७५ हजार क्यूसेक पुगेको छ ।

नदीमा पानीको सतह वृद्धि हुँदै गएपछि निर्माणधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ । नदीका कारण भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेका छन् ।

महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो । ऐरी बस्तीको १० घर डुबानमा परेको भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष लालबहादुर शाहीले बताए । बाढी प्रभावित क्षेत्रमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टसहितको जनप्रतिनिधिहरुको टोली पुगेको थियो ।

नदीमा पानीको बहाव बढ्ने क्रममा रहको बताइएको छ। हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणको लागि उद्धार टोलीलाई उच्च सतर्कताको साथ तयारी अवस्थामा राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।