महाकाली नदीको बाढीले दोधारा चाँदनीको १५ घर डुबान, नदीको बीचमा फसेका ३ जनाको उद्धार
2021/06/20, 8:56
 
dd

महाकाली नदीको बाढीले दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन्। शनिबार राति पौने ३ बजे बाढी गाउँमा पस्दा बस्ती डुवानमा पारको हो।  सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी नायब निरीक्षक दानबहादुर विष्टको कमाण्डमा रहेको सात जनाको टोली, दोधारा चाँदनीस्थित बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक केशव विष्टको कमाण्डमा रहेको सात जनाको टोली, नेपाल प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा डुवानमा परेका परिवारलाई पशु चौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

आलोक दमाई, पुरन दमाई, शंकर आग्री, चोकवीरे दमाई, जितबहादुर खड्का, तुलसी सार्की, महावीर सुनार, जीवन सुनार, कर्णबहादुर सुनार, मानवीर सुनार र गगन सुनारलगायतको बाढीबाट प्रभावित भएका छन्।  ‘घर डुबानमा परेको खबर पाउने बित्तिकै टोलीलाई परिचालन गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छौं,’ सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले भने, ‘मानवीय र भौतिक क्षति भएको छैन।’

महाकाली नदीको बाढीको पानीले जोगबुढा नदीको पानी थुनिँदा कुतियाकभरका बस्तीमा पानी छिरेको बताइएको छ। भीमदत्त नगरपालिका–१२ ऐरीमा बाढीले घर डुबानमा परेपछि ६ परिवारलाई उद्धार गरी वडा कार्यालयमा राखिएको छ। महाकाली नदीमाथि निर्माण भैरहेको चार लेनको पक्की पुल जोडने पहुँच मार्गको २५ मिटर सडक बाढीको पानीले कटान गरी बगाएको छ। सोही स्थानबाट नदी बगिरहेको छ।

पहाडी क्षेत्रमा पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको पानीको बहाव अहिले घट्दो क्रममा रहेको छ। आइबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव दुई लाख १६ हजार क्युसेक रहेको छ। राति २ बजे पानीको बहाव दुई लाख ४६ हजार क्युसेकसम्म पुगेको थियो। 

महाकाली नदीको बीचमा फसेका ३ जनाको उद्धार

महाकाली नदीको बाढीमा फसेका ३ जनाको नेपाल र  भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ। भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो।
 
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

 

नेपाल तर्फबाट सशस्त्र प्रहरीका १४ जवान, नेपाल प्रहरीका पाँच जवान, भारतीय एसएसबीका ५७ नम्बर वटालियन वनवसाका सात जवान र टनकपुरस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक धरमवीरको कमाण्डमा आठ जना डुङ्गासहितको टोली उद्धारमा संलग्न भएको थियो।