सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४८ पुग्यो, कुन जिल्लामा कति संक्रमित ? (जिल्लागत विवरण सहित) 
2020/06/09, 9:42
 
korona

सुदूरपश्चिममा मंगलबार विहान थप एक जनामा कोरोना पुष्टि भएको छ । सोमवार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा मंगलवार एक महिला थपिएकी हुन् । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १४८ जना पुगेको छ । अछामबाट हेलिकप्टरमा उद्धार गरी कोहलपुर लगिएकी गर्भवतीमा कोरोना पुष्टि भएको छ । अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ की २५ बर्षीय गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगंज मेडिकल कलेज लगिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको जटिल शल्यक्रिया गर्नुपर्ने भएको मेकिडल कलेजका सवै ओपिडी सेवा बन्द गरिएको छ ।

कोरोना पुष्टि भएकी गर्भवतीको आन्द्रा बेरिएका कारण आपतकालीन शल्यक्रिया गर्नका लागि अस्पतालका सम्पुर्ण वहिरंग विभाग बन्द गरिएको मेडिकल कलेजका सह निर्देशक डाक्टर कडौडियाले जानकारी दिए । अछामको वयलपाटा अस्पतलाबाट रेफर भएर त्यहाँ लगिएकी महिलाको शल्यक्रिया पछि वुधवारदेखि सवै सेवा सुचारु हुने नेपालगंज मेडिकल कलेज कोहलपुरले जनाएको छ । उनी भारतबाट आएको खुलेको छ । १० दिनअघि भारतको सवैभन्दा वढी कोरोना संक्रमित रहेको महाराष्ट राज्यको मुम्बईबाट अछाम पुगेको खुलेको हो । १० दिन अघि उनी मुम्बईबाट अछाम पुगेकी थिईन् । सिम्रीक एयरको हेलिकोप्टर मार्फत उनलाई उद्धार गरी सोमवार कोहलपुर लगिएको थियो । सामाजिक विकास मन्त्रालयको ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाको उद्धार कार्यक्रम अन्तरगत उनलाई थप उपचारका लागि पठाईएकामा कोरोना परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । 

सोमबार थप ३७ जनामा कोरोना पुष्टि भएको थियो । धनगढीको प्रयोगशालाबाट एक सय ३०, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र नेपालगंज मेडिकल कलेजमा एक जनामा कोरोना पुष्टि भएको छ । हालसम्म १८ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भईसकेको छ । यस्तै एक जनालाई भने थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । मंगलवार मात्रै कोरोना पुष्टि भएकी महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।  बाँकी एक सय २६ जनालाई  सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न अस्पताल र क्वारेन्टिनमा राखिएको छ ।

कैलालीमा सबैभन्दा वढी कोरोना संक्रमित देखिएको अवस्था कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा पनि कोरोना संक्रमितको संख्या बढेको छ । सोमबार कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँगै कैलालीमा संक्रमितको संख्या ४८ पुगेको छ । यो संख्या प्रदेशभरीकै सवैभन्दा वढी हो । कञ्चनपुर पछि सवैभन्दा वढी संक्रमित कञ्चनपुरका रहेका छन् ।

सोमवार मात्रै कञ्चनपुरका १९ जनामा कोरोना पुष्टि भएको छ । सोमवार पुर्नवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला, तीन पुरुष र शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियोे । यो सँगै कञ्चनपुरमा संक्रमितको संख्या ३२ जना पुगेको छ । अहिलेसम्म अछामका १६, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीमा १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । दार्चुलामा सोमवार मात्रै १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक÷एक पुरुषमा पुष्टि भएको थियो । 

डडेल्धुरामा पनि सोमवार ७ जनामा कोरोना पुष्टि भएको थियो । डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको सेती प्रादेशि अस्पतालले जनाएको छ ।