काठमाण्डौं सिंहदरबारको गेटमा अर्धनग्न झुण्डिएकी उमा र सुदूरपश्चिम प्रदेश सभाकी सांसद उमा
2021/06/27, 9:25
 
aa

२०६४ मा २३ जिल्लाका पाँच सयभन्दा बढी वादी समुदायका महिला ‘मुक्तिको सपना’ बोकेर काठमाडौं पुगे । २६ बुँदे मागपत्र लिएर गाउँदेखि काठमाडौं पुगेका उनीहरुले माइतीघर मण्डलामा धर्ना दिए, जुलुस गरे । सरकारले आवाज नसुनेपछि उनीहरु उनीहरु सिंहदरवारतिर गए ।

माइतीघरबाट सिंहदरवार जाने जुलुसको नेतृत्व गरेकी थिइन्, उमा वादीले । त्यतिबेलाको क्षण सम्झँदै उमा भन्छिन्, ‘गाउँबाट धेरै गएको भए पनि त्यतिबेला मेरो पछाडि करिब २०÷२५ जना मात्रै महिला थिए । हामी सोझै सिंहदरबारको गेटमा पुग्यौँ । सुरक्षाकर्मीले गेट बन्द गरे । हाम्रो आक्रोश थामिनसक्नु भयो । अनि सिंहदरवारको गेटमा चढेर अर्धनग्न हुँदै सरकार विरुद्ध नाराबाजी गर्यौं ।’

सो दृश्यले धेरैको ध्यान खिच्यो । सञ्चार माध्यम र मानव अधिकारकर्मीले वादी समुदायको आन्दोलनलाई साथ दिए । आन्दोलनले विस्तारै गति लियो । सञ्चार माध्यमले आन्दोलनका बारेमा लेख्न थाले । बल्ल मात्रै आन्दोलनका बारेमा सरकारले समेत चासो दियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उमादेवी लगायतलाई बालुवाटार बोलाए । कोइरालाले आन्दोलन रोक्न आग्रह गर्दै नेपालगन्जमा गाँसबासको व्यवस्था गर्ने आश्वासन दिए । उनले वादी समुदायको समस्या नेपालगन्जमा मात्रै नभएर देशैभर रहेको कुरा कोइरालालाई अवगत गराइन् । 

यही बेलामा कञ्चनपुरका वादी अगुवाले उमादेवीलाई शेरबहादुर देउवालाई भेट्ने सुझाव दिए । उनीहरु देउवाको निवास पुगे । देउवाले सबै कुरा सुने । तत्कालीन शान्ति मन्त्री रामचन्द्र पौडेललाई फोन मार्फत कुरा सुनाए । एकैछिन पछि पौडेलका पिएले उमालाई फोन गरेर वार्तामा आउन भने । २०६४ भदौ २८ गते पौडेलकै कार्यकक्षमा वार्ता भयो । कांग्रेस नेता एनपी साउँद, रामजनम चौधरी, फकिरसिंह कडायतले वादी समुदायको पक्षबाट कुरा राखे । सरकार वादी समुदायको समस्यालाई सम्बोधन गर्ने गरी अघि बढ्यो ।

‘अ’नागरिक हुनुको पीडा
त्यसबेला बादी महिलाहरू ‘यौन पेसा’ गरेर जीविकोपार्जन गर्थे । त्यही क्रममा उनीहरूबाट बच्चा जन्मिन्थे । ती बच्चाका बाउको पहिचान हुँदैन थियो । बाउको पहिचान नभएपछि बच्चाहरूले नागरिकता पाउन सक्दैन थिए । नागरिकतामा बाउको नाम उल्लेख हुनुपर्ने अनिवार्य कानुनी व्यवस्था थियो । वादी समुदायका अधिकांश व्यक्तिहरू नागरिकताविहीन थिए । उनीहरु नागरिकता नभएकै कारण शिक्षा र रोजगारी लगायतबाट वञ्चित थिए । ‘बाबु थाहा छ । तर किटान गर्नसक्ने अवस्था अहिले पनि छैन’, उनले भनिन्, ‘कैलालीको टिकापुरस्थित वडा नम्बर १, ६, ७, ८ र ९ नम्बरमा कयौँ व्यक्तिहरुको समस्या यस्तो छ ।’

नागरिक हुनुको पहिलो परिचय नागरिकता हो भन्ने कुरा उमादेवीका मनमा लाग्यो । उनले नागरिकता नभएका कारण थुप्रै व्यक्तिहरूले दुःख पाएको कुरा महसुस गरिन् । त्यसपछि आमाका नाममा पनि नागरिकता पाउनु पर्छ भन्ने एजेन्डा अघि सारिन् । ‘मलाई नागरिकता नहुनुको पीडा महसुस भयो, यस्तो पीडामा बाँच्नेहरू धेरै थिए तर कसैले बोल्ने हिम्मत गरेका थिएनन्, मैले यसविरुद्ध आवाज उठाउने योजना बनाएँ’ उनले भनिन् ।

आमाका नाममा नागरिकता पाउने कुरा त्यत्ति सहज थिएन । एकातिर कानुनी अफ्ठ्यारो, अर्काेतिर पितृसत्तात्मक सोच । ‘मैले यस्तो कुरा गर्दा धेरैले मजाक बनाए तर मैले हिम्मत हारिनँ । मलाई जसरी पनि वादी महिला र तिनका सन्तानहरूलाई न्याय दिनु थियो’ उनले भनिन् । वादी समुदायले आमाको नाममा जन्मदर्ता र नागरिकता, स्थायी बसोबास, यौन पेसाको अन्त्य, निःशुल्क शिक्षा, एचआइभी–एड्स परीक्षण, छुवाछुत अन्त्यलगायतका मागहरू लिएर उनले आन्दोलनको मोर्चा सम्हालिन् ।

सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा बादी समुदायको बसोबास छ । करिब १० हजार बढी बादी समुदायका नागरिक यहाँ रहेको उनी बताउँछिन् । कैलालीको टिकापुर, लम्कि चुहाको बलचौर र बर्दगोरीयाको मुढामा उनीहरु बसिरहेका छन् । यहाँ केही परिवार अहिले पनि नागरिकताबिना बसिरहेका छन् । बुवाको पहिचान नहुँदा सन्तानहरू आमाले पालिरहेका छन् । ‘उच्च शिक्षा पढ्दासम्म पनि जन्म दर्ता र नागरिकता नभएपछि हामी आन्दोलित भएका हौँ’ उनले २०६५ सालको आन्दोलन सम्झिँदै भनिन् ‘त्यो बेला त अधिकांशको नागरिकता त के जन्म दर्ता पनि थिएन, अहिले धेरैले पाए, केही छुटेका छन् ।’ अझै ४० बर्षसम्मका केही पुरुषको नागरिकता नरहेको उनी बताउँछिन् । ‘नाति नातिनी हुँदासम्म पनि हजुरआमा हजुरबुवासँग नागरिकता छैन’ उनी भन्छिन्, ‘त्यो बेला आमाको नामबाट नागरिकता लिने चलन थिएन अहिले कहिले पाएका छैनन् ।

परिवर्तनको सुरुवात आफैंबाट‘
उनको परिवार टीकापुरमा बस्न थाल्यो । २० वर्ष कटेपछिको समय थियो त्यो । गाउँकै प्रेमलाल भट्टसँग प्रेम भयो । उनीहरुको विवाह भयो । प्रेमको परिवारले अन्तरजातीय भएका कारण स्वीकारेन । उनीहरुलाई छुटाउन निकै प्रयत्न गरे । तर छुटाउन सकेनन् ।

लामो समयसम्म पनि उनीहरुको बच्चा भएन । उनले आफ्नै बहिनीका छोरालाई पालिन्, पढाइन् । अहिले एउटा छोरो राकेश दोलखा स्थित क्याम्पसमा प्राध्यापक छन् । अर्को छोरा गौरव काठमाडौंमा जागिरे छन् । उनी पहिले भन्दा समाजको नजरमा बादी समुदायका नागरिकलाई हेर्ने दृष्टिकोण फेरिएकोमा भने निकै खुसी छिन् ।

‘पहिले बादी समुदायलाई हेर्ने दृष्टिकोण र अहिले हेर्ने दृष्टिकोण आकाश जमिनको फरक छ । त्यो बेला अपमानको दृष्टिले हेर्ने गरेका थिए । अहिले सम्मानको दृष्टिकोणले हेर्ने गरेका छन्’ उनी भन्छिन्, ‘अहिले यो समुदाय असभ्य होइन, सभ्य भएर हिँडिरहेको छ भन्छन् । ’

फेरिएन जीवनशैली र पेसा
२०६५ पुस २३ गते बादी समुदायका महिलालाई बाध्यात्मक यौन पेसाबाट छुटाएर पुनःस्थापना गर्ने निर्णय भयो । तर, सरकारले पुनःस्थापनामा ध्यान नदिँदा अझै पनि उनीहरु यौन पेसा अंगाल्ल उनीहरु बाध्य छन् । केही समयअघि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउन आएका बादी समुदायका महिलाहरूले देहव्यापारको लागि आइसेन्स समेत मागेका थिए । उमा बाध्यताले महिलाहरू लाइसेन्स माग्नसम्म पुगेको बताउँछिन् ।

‘यौन शोषण गराउने सरकारको चाहाना हो भने लाइसेन्स देओस् भनेका हुन्’, उनले भनिन्, ‘बादी समुदायका नागरिकको बाध्यता हो ।’ उनले भनिन्, ‘अहिले पनि यौन शोषण छ । यता कोरोनाको कहर छ अर्काेतिर पेटको आगो छ । बालबच्चा छन् । परिवार चलाउन पनि यौन पेसा अपनाउनैपर्ने वाध्यता अझै छ ।’ यही नियतिबाट कयौँ बादी महिला एचआइभी संक्रमित भए । कयौँ पाका उमेरका महिला पनि यौन शोषणमा परे । बाबुको पहिचान नभएका कयौँ बालबालिकाहरू अहिले पनि बाबु कुरिरहेका छन् ।

फिरन्ते जीवनबाट आएकी उमा
२०२१ सालमा सल्यानको थापा गाउँमा जन्मिएकी उमाको बाल्यकाल घुमफिरमै बित्यो, सोखले होइन, बाध्यताले । जग्गाजमिन थिएन, आम्दानीको स्रोत भएन । परिवार गाउँ डुल्दै, गीत गाउँदै, खानेकुरा माग्दै हिँड्थिन् । महिना दिन, दुई महिना या तीन महिना । आधा वर्षसम्म एउटा गाउँमा बित्थ्यो । आमाबुबाले स्कुल त भर्ना गरिदिन्थे, तर वर्ष दिन कुनै स्कुलमा पढ्न मिल्दैनथ्यो ।

‘कति हो कति स्कुल पुगेँ । सबै त याद नै छैन तर कहीँ पनि परीक्षा दिउन्जेलसम्म पढ्न पाइनँ’, उमासँग स्कुले जीवनको धमिलो सम्झना छ । केही वर्षपछि उमाको परिवार कैलाली आयो । कैलालीमा स्थायी बसोबास कतै थिएन । सल्यानमा जस्तै कैलालीमा पनि उही पेसा अंगाले ।

उनीहरु राजपरिवार कहाँ हुने उत्सव र चाडबाडमा नाचगान गर्थे । त्यसबापत केही जिन्सी र नगद पाउँथे । जीविकोपार्जन यतिले मात्र धानिन्नथ्यो । कतिपय महिलाहरू देहव्यापार गर्थे । युवा पुरुष मादल बजाउँथे । यसरी नै बित्थ्यो फिरन्ते जीवन । उनले सुनाइन् ‘बस्ने ठाउँ कतै थिएन, माग्दै हिँड्ने भएपछि स्थायी बसोबास हुने कुरै भएन ।’

बादी समुदायकी एक्ली सांसद
उमादेवी बादी, बादी समुदायकी एक्ली सांसद हुन् । नेपाली काँग्रेसका तर्फबाट उनी समानुपातिक तर्फबाट सांसद भएकी हुन् । हुन त उनलाई काँग्रेसले २०६४ को संविधानसभामा समानुपातिक तर्फ राख्ने निकै चर्चा थियो । तर अन्तिम अवस्थामा उनको नाम काटियो । २०७० मा भने उनको नाम लिस्टमा अट्यो तर पछि हट्यो ।

यसपटक भने महिला र दलित समुदायलाई अनिवार्य समेट्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण उनको नाम काट्नै नमिल्ने गरी छनोटमा प¥यो । अहिले उनी संसदमा उपस्थित भएर आफ्ना समुदायको हक अधिकारका बारेमा कुरा राख्छिन् । शून्य समय र विशेष समयमा पनि उनले बादी समुदायको बसोबास, सामाजिक सुरक्षा भत्ता र बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै आवाज उठाउँछिन् ।

‘म माथि धेरैको विश्वास अडेको छ, हिजो जस्तो जीवन भोलि व्यतीत गर्न नपरोस् भन्नका लागि सबै एउटा आवाज उठाउछु’, उनले भनिन् ‘हामी सम्मानजनक रूपले बाँच्न पाउनु पर्छ ।’

सांसद हुँदाको क्षण
२०७४ साल माघ २१ गते । सबै आ–आफ्नै सुरुमा थिए । पुरुष दौरा सुरवाल र कोट, पाइन्टमा । महिला साडी चोलीमा चिटिक्क । कोही भने आफ्नै जातीय पहिरनमा सजिएका थिए । सांसदहरु प्रदेशसभामा सपथका लागि उपस्थित थिए । त्यसैबीच पुरानो साडी र ब्लाउज लगाएर प्रदेशसभामा पुगिन्, उमा ।

उमादेवी बादी प्रदेश सभा भित्र प्रवेश प्रवेश गर्दा त्यहाँको माहोल नै फेरियो । उनलाई स्वागत गर्न पुगेका दलित तथा बादी समुदायका नागरिकहरूले प्रदेशसभा भवनबाहिर नाराबाजी गरे । उनले आफ्नो समुदायतर्फ हात हल्लाइन् र अघि बढिन् । त्यो बेला उनले विगत सम्झिएर आँसु थाम्नै सकिनन् । ‘त्यो क्षण मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो’ उनले भनिन्, ‘हिजो पशुभन्दा पनि तल्लो स्तरको जीवन बाँच्न बाध्य म, आज नीति निर्माण गर्न तहमा पुगें जस्तो लाग्यो ।’

सरकारले केही वर्ष बादी समुदायका लागि घर जनता आवास कार्यक्रम ल्यायो । हुनेखानेले धमाधम घर बनाउन थाले पनि हुँदा खानेहरूले भने अझै पुरानै स्थितिमा छन् । सरकारले ल्याएका सीपमूलक कार्यक्रमले बादी महिलाले पुस्तौँदेखि अँगाल्दै आएको यौन पेसालाई प्रतिस्थापन गर्न सकेको छैन । उनीहरुमध्ये कतिपयले अहिले पनि बाध्यकारी यौन पेसा अंगाल्दै आएका छन् । कतिपय नेपालमै त कतिपय भारतमा यौन व्यवसाय गरिरहेका छन् । यौन पेसामा लागेका बादी महिलाहरूलाई पेसाबाट अलग गरेर समाजमा आत्मसम्मानका साथ पुनःस्थापना गर्ने उमादेवीको धोको रहेको खबर नेपाल पे्रसमा भानुभक्त आचार्यले लेखेका छन् ।