सुदुरपश्चिमका सात पहाडी जिल्लाका सबै संक्रमितभन्दा दुई जिल्लाका संक्रमित बढी
2020/06/09, 5:11
 
korona

सुदूरपश्चिममा मंगलवार थप ११ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जना र एक जना गर्भवतीमा कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएको हो । धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ बर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ बर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो । उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा आज नै कोरोना पुष्टि भएको थियो । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ५८ पुगेको छ ।

सुदुरपश्चिमका सात पहाडी जिल्लाहरुका सवै संक्रमितभन्दा पनि तराईका दुई जिल्लामा संक्रमित अझ वढी रहेको पाईएको छ । कैलाली र कञ्चनपुरमा गरी हालसम्म ८८ जना संक्रमित पुगेका छन् । यो कुल संक्रमितको ५६ प्रतिशत हो । तर सात पहाडी जिल्लाहरुका सवै संक्रमित जोड्दा पनि ७० जना मात्रै पुग्छ । अर्थात सात पहाडी जिल्लामा ४४ प्रतिशत संक्रमित पुष्टि हुँदा कैलाली कञ्चनपुरमा ५६ प्रतिशत संक्रमित पुष्टि भएका हुन् । 

अहिलेसम्म सबैभन्दा बढी कैलालीका ५५ जना, कञ्चनपुरमा ३३ पुग्दा दुवै जिल्लाको जोडेर ८८ जना पुग्छ । त्यसैगरी अछामका १६, डडेल्धुराका १५, दार्चुलाका १२, डोटीका १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि हुँदा सवै जोड्दा ७० जना हुन्छ । सरकारले यसअिघ नै कैलाली कञ्चनपुरलाई कोरोनाको रेड जोनमा राखेकोमा भारतसँग सीमाना जोडिएका दुई जिल्लाहरुमा कोरोना संक्रमितको संख्या अत्याधिक रहेको छ । कोरोना नियन्त्रणका लागि पहल नथालेमा स्थिति भयावह हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

सुदुरपश्चिममा पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४०, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।