कोरोना कहरमा पर्दा पछाडीका असली हिरो ईश्वरी
2021/07/14, 10:17
 
dd

गंगा भण्डारी– “जसरी युद्धमा सिपाहिले आफुलाई गोलि लाग्छ भन्ने थाहा हँुदाहँुदै पनि मैदानमा उत्रिएर युद्ध गर्छ त्यसै गरी आफु र आफ्नो परिवारलाई समेत जोखिममा राखेर दिनरात, भोक प्यास नभनिकन समेत हामी आफ्नो काममा खटिरहेयौँ ।” यो भनाई हो डडेल्धुरा अस्पतालका ल्याब ईन्चार्ज ईश्वरी प्रसाद भुषालको । भुषाल वि.स २०६८ सालदेखि डडेल्धरा अस्पतालमा कार्यरत छन् । झण्डै ११ वर्ष काम गर्दा यस्तो कठिन परिस्थी उनको जीवनमा सायदै कहिले आएको थिएन । कोरोना महामारीको समयमा भुषाल सहितको ४ जनाको टिमले डडेल्धुरा अस्पतालमा फ्रन्टलाईनमा बसेर काम गरि रहेको छ ।

2

उनि भन्छनः “शुरुमा कोरोना संक्रमण भयावह रुपमा जब नेपालमा पनि फैलियो त्यो बेला बसैको मनमा संक्रमणलाई लिएर एक किसिमको त्रास त छदै थियो नयाँ किसिमको रोग भएकाले हामी स्वास्थ्यकर्मीहरुलाई भने अब परिक्षण कसरी गर्ने भन्ने सबैभन्दा ठूलो प्रश्न चिन्ह खडा भएको थियो ।” त्यो समयमा कोरोना  जाँच गर्ने एउटा मात्रै भरपर्दो विधी भनेको पि.सी.आर. विधी नै थियो । तर त्यो परिक्षण विधी पनि नेपालमा आएको थिएन । परिक्षण गर्न विदेश पठाउनु पर्ने अवस्था थियो । नेपालकै केन्द्र बिन्दू काठमाण्डौँमा समेत नभएको जाचँ सुदूरपश्चिममा हुने कुरै भएन ।  यहाँसम्म कि कोरोना परिक्षण गर्न प्रयोग हुने भिटिएम समेत पुरै सुदूरपश्चिम भरि थिएन । त्यस्तो  कठिन परिस्थीतीमा अस्पतालले भने ईन्फुल्न्जाका लागि भनेर राखिएको १० ओटा भाईल भिटीएममा कोरोनाको नमुना संकलन गरेर पनि परिक्षणका लागि बाहिर पठाईएको थियो ।

2

त्यसैमाथि मेनपावरको एकदमै अभाव, पि.पि.ई लगाएतका स्रोत साधनको चरम अभाव थियो । यो कठिन परिस्थितीमा पनि उनको टिमले भएका स्रोत साधनहरुको उपयोग गरेर परिक्षण गर्यो । थोरै जनशक्ति भए पनि उनको टिमले एक दिनमा १२ सय जना सम्म बिरामीहरुको परिक्षण गरि रिपोर्ट दिएको थियो ।  नेपाल सरकारले स्वास्थ्यकर्मीलाई १४ दिन काम गरेर १४ दिन आईसुलेसनमा बस्नुपर्ने सुविधा दिएको थियो तर बढिभन्दा बढि परिक्षण कसरी गर्न सकिन्छ भनेर हप्तामा पाईने एक दिनको बिदा समेत नलिकन उनको टिमले काम गर्यो । उनि भन्छन्ः “एकातर्फ जनशक्तिको अभाव थियो हामी नै बिदामा बस्यौँ भने ल्याब नै बन्द हुने अवस्था थियो कसरी बिदामा बस्नु अन्य बिरामीहरुको परिक्षण गर्नु हाम्रा लागि सबैभन्दा पहिलो प्राथमिकता भएकाले हामीले अस्पतालमा भएका स्वास्थकर्मीहरुको समेत कोरोना परिक्षण नगरिकन अरु बिरामीहरुको परिक्षण गरेका थियौँ ।”

2

उनि थप्छनः “बिरामीहरुको चाप यति धेरै थियो कि हामीहरुलाई सौचालय जाने समेत समय हुदैन थियो । कतिपय साथीहरु सुगरका बिरामी पनि हुनुहुन्थ्यो उहाँहरुलाई बेलाबेला सौचालय जानु पर्ने हुन्थ्यो तर त्यो सम्भव थिएन तसर्थ उहाँहरुले त्यसको बिकल्पमा प्याड लगाएर पनि चौबिसै घण्टा काम गर्नु भयो ।” त्यतिबेला ठुलठुला शहरी क्षेत्रहरुमा त मानिसहरुले स्वास्थ्कर्मीहरुलाई नराम्रो दृष्टिकोयाले हेर्दथे भने डडेल्धुरा जस्तो सानो पहाडी क्षेत्रमा सबै मानिसहरुले कोरोनाका बारेमा नबुझेका कारण त्यहाँ स्वास्थ्यकर्मीहरुलाई झनै गाहे थियो । खाना खान होटलमा जादा होटलमालीकले स्वास्थ्यकर्मी हो भन्ने थाहा पाएपछि खाना समेत नदिने र बस्नका लागि कोठा खोज्दा कोठा भाडामा समेत नदिने गरेको उनले बताए ।

1

उनि संगै उनकी श्रीमती पनि डडेल्धुरा अस्पतालमै स्टाफ नर्सको रुपमा कार्यरत छिन । उनका ८ वर्षिय छोरा पनि छन । कोरोना महामारीको सामयमा दुबै जना स्वास्थ्य क्षेत्रमा काम गरि रहदा छोरालाई आफुहरुबाट कोरोना संक्रमण नहोस भन्ने सोचेर महेन्द्रनगर स्थित मामाघरमा पठाईयो । आमा बुबादेखि कहिले पनि टाढा नराखिएको बच्चालाई अचानक आफुदेखि टाढा राख्दा बच्चाको कलिलो मनस्थितीमा नराम्रो प्रभाव परेको थियो । उनी भन्छनः “एकातिर दिन रात नभनी अस्पतालमा सेवा दिइरहेका थियौं भने उता सानो छोराको पनि त्यतिकै चिन्ता थियो । त्यसमाथि एक दिन त छोराले फोन मार्फत तपाईहरु मलाई आफुसँगै नराख्ने भए म छतबाट हामफाल्दिन्छु भनेपछि मन भत भत पोलेको थियो । तर पछि उनलाई आफुहरु लगायत परिवारमा सबैले सम्झाई बुझाइ गरेपछि भने उनले कुरा बुझे ।”

1

उनी डडेल्धुरा अस्पतालमा ल्याब इचार्जको रुपमा त कार्यरत थिए नै त्यो संगै उनले कैलालीका ल्याव इन्चार्ज रमेश शाहीजीसँगै बैतडी, डोटी, अछाम र बझाङको अस्पतालमा पिसिआर ल्याब सेटअप गरी त्यहाँ कार्यरत कर्मचारीलाई समेत तालिम दिई ल्याब सञ्चालनमा ल्याएको बताए । साथै सुदूरपश्चिमको सबै क्षेत्रमा ल्याब बिस्तार गरि सेवा सञ्चालनमा ल्याउन सहयोग गरेको बताए । उनले डडेल्धुरा अस्पतालको जनरल ल्याब र पिसिआर ल्यावको सेवा विस्तारका लागि मेहनत गरिरहेको र उनकै नेतृत्वमा अब एक डेढ महिनाभित्र नेगेटिभ प्रेसर सहितको बि.एस.एल.प्लसको ल्याव सञ्चालनमा ल्याउन लागेको पनि बताए । यो ल्याब सञ्चालनमा आएपछि अब भने यहाँका जनताले कोरोना लगाएत अन्य घातक रोगको परिक्षणका लागि बाहि जान नपर्ने समेत उनले बताए ।