रणनीतिक कोठेधार–टिंकर सडक निर्माण साउनबाटै
2021/07/16, 12:09
 
aa

नेपाली सेनाले निर्माण गर्ने महाकाली लोकमार्गको टिंकर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ । कोठेधार–टिंकर (८७ किलोमिटर) सडकको फिल्ड सर्वेक्षण भएर प्रतिवेदन लेखन सकिन लागेको सेनाले जनाएको छ । ‘प्रतिवेदनको ९५ प्रतिशत काम सकिएको छ,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘साउन पहिलो साताभित्र टिंकर सडकको प्रतिवेदन पास हुन्छ ।’

एक महिना बढी समय लगाएर जेठ अन्तिमसम्म फिल्डको सर्वेक्षण गरिएको थियो । सेनाको डीपीआर निर्देशनालयले परामर्शदाता प्यारागन ग्रिड नेपालसँगको सहकार्यमा डीपीआर निर्माण गरिरहेको हो । नेपाली सेनाका अनुसार अहिलेको व्यास जोड्ने घोडेटोको आसपास नै सडकको सर्वेक्षण गरिएको छ । केही ठाउँमा तलमाथि भए पनि सडकको अधिकांश भाग घोडेटोमै पर्ने देखिन्छ ।

व्यास गाउँपालिका–२ कोठेधारबाट दुम्लिङ हुँदै व्यास–१ छाङरुसम्म महाकाली किनार र त्यहाँबाट छाङरुको गागा हुँदै टिंकर भन्ज्याङसम्म सर्वेक्षण गरिएको परामर्शदाता कम्पनीले जनाएको छ ।

सडकको डीपीआर पास भएको एक/दुई सातामै सडक निर्माण सुरु गर्ने तयारी छ । सडक निर्माणका लागि व्यास–४ सुन्सेरा र दुम्लिङमा सैनिक क्याम्प राखिएको छ । ‘डीपीआर पास हुनेबित्तिकै सडक निर्माण उपकरण ढुवानी गरिन्छ,’ सैनिक प्रवक्ता पौडेलले भने ।

सेनाले साउनबाटै काम गर्ने गरी जनशक्ति फिल्डमा खटाएको छ । निर्माण उपकरण र इन्धन ढुवानी गरिएलगत्तै ट्र्याक खोल्ने काम सुरु हुने सेनाले जनाएको छ । नेपाल सरकारले सेनालाई टिंकर सडक निर्माणका लागि जिम्मा दिने निर्णय २०७७ वैशाखमा गरेको थियो ।

सरकारको निर्णयपछि सेनाको टोली रणनीतिक सडकको निर्माणका लागि व्यास क्षेत्रमा खटिएको छ । आर्थिक वर्ष २०६४/६५ मा निर्माण सुरु भएको दार्चुला–टिंकर सडकको ४३ किलोमिटर खण्ड मात्रै ट्र्याक खुलेको छ । स्थानीय जयसिंह धामीले सरकार र ठेकेदारको लापरबाहीले यसअघि सडक निर्माणमा ढिलाइ भएको बताए ।

सरकारले महाकाली लोकमार्गका लागि एक अर्ब तीन करोड रुपैयाँ विनियोजन गरेको छ । जसबाट सेनाले २२ करोड रुपैयाँ प्राप्त गर्नेछ । बाँकी रकम महाकाली लोकमार्गको दार्चुला–बैतडी–डडेलधुरा–कञ्चनपुर क्षेत्रमा सडक निर्माणमा खर्च गरिने सडक योजनाले जनाएको छ । महाकाली लोकमार्गको कुल लम्बाइ ४ सय २५ किलोमिटर छ ।

लोकमार्गअन्तर्गत डडेलधुरा, बैतडी र दार्चुलाका विभिन्न खण्डमा काम भइरहेको महाकाली लोकमार्ग दार्चुला–टिंकर सडक योजना प्रमुख अच्युतविलास पन्तले बताए । यो लोकमार्ग सडक निर्माण भए चीनसँग सीधा व्यापार गर्न सहज हुने स्थानीय बताउँछन् ।

यो लोकमार्गले भारतसँगको व्यापारलाई सजिलो पार्ने उनीहरूको भनाइ छ । यो हिन्दु र बौद्धहरूको धार्मिक आस्थाको केन्द्र कैलाश मानसरोवर दर्शनका लागि प्रमुख मार्ग बन्न सक्ने स्थानीय व्यवसायी जितसिंह बोहराले बताए । पारिपट्टि भारतले महाकाली नदी किनारैकिनार भएर लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाउँदै छ । अहिले भारतले नवनिर्मित सडकमा कालोपत्र पनि गरिरहेको छ ।