१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।
‘ऊर्जामन्त्रीले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दा राजीनामा माग्नु भएको हो,’ स्रोतले भन्यो । २०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१बाट उनी कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो ।
तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारी मध्येबाट लेखनाथ कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । तर, घिसिङको पुर्न नियुक्त गर्न असहमत भएका ततकालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए । त्यसपछि शाक्यलाई प्राधिकरणको कायममुकायम नेतृत्वमा ल्याइएको थियो ।
शाक्यलाई सरकारले बढीमा चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । उनले अहिलेसम्म प्राधिकरणको उपकार्यकारी निर्देशक पदबाट पनि राजीनामा नदिएको प्राधिकरण स्रोतले जनाएको छ ।