शुक्रवारसम्म थप ३ वटा पिसिआर मेसिन सुदूरपश्चिम आउँछः मन्त्री भट्ट 
2020/06/11, 1:34
 
bhatta

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले यहि शुक्रबार सम्म थप तीन वटा पिसिआर परिक्षण गर्न मेसिन सुदूरपश्चिम प्रदेश आउने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण, उपचार एवम् अन्य आवश्यकताको पूर्तिलाई अझै प्रभावकारी र सहज बनाउने उद्देश्य सहित विभिन्न अन्य सरोकारवालाको टोली सहित धनगढी पुगेका भट्टले २ वटा पहाडी जिल्ला र एउटा कञ्चनपुरका लागि पिसिआर मेसिन ल्याउन लागिएको बताएका हुन् ।

धनगढी विमानस्थलमा प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशमा कोरोनाको असर कम गर्न तथा भारत लगायतका मुलुकबाट फर्किएकाहरुलाई उद्यमशिलता तथा नेपालमै श्रम गर्न सम्भाव्यताबारे पनि छलफल गरिने जानकारी दिए ।

मन्त्री  भट्टको नेतृत्वमा उद्योग सचिव चन्द्र कुमार घिमिरे,  राष्ट्रिय योजना आयोगका सदस्य  सुशील भट्ट लगायत मन्त्रालयसँग लघु घरेलु तथा साना उद्यमीहरूको प्रबद्र्धनमा सहकार्य गर्दै आएको युएनडिपीका प्रतिनिधिहरू सहितको एक उच्चस्तरीय टोली धनगढी पुगेको हो । मन्त्रीको भ्रमण टोली यति एयरलाइन्सको चार्टड विमानबाट काठमाडौ फर्किने कार्यक्रम रहेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।